काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटनमा आफूहरूको कुनै समर्थन नहुने स्पष्ट पारेका छन्। सोमबार नयाँ दिल्लीमा भारतीय संस्था ‘नेपाली समाज’ द्वारा आयोजना गरिएको एकता सन्देश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अन्तरिम सरकार गठनको प्रक्रियामा मात्र सहजीकरण गरिएको बताउँदै संसद् विघटनमा सहमति नभएको उल्लेख गरे।
प्रचण्डले भने, ‘भदौ २३ र २४ गते राज्यबिहीन अवस्था सिर्जना भएको थियो। भविष्य के होला भन्ने संशय थियो। भदौ २६ गते म र माधवजी रातभर बसेर परिस्थितिलाई सामान्य बनाउने भूमिका निर्वाह गर्यौं। राष्ट्रपति र प्रधान सेनापतिले बोलाएपछि हामी दुई जना मेहनत गर्यौं। कामचलाउ प्रधानमन्त्री केपी ओलीको सिफारिसमा अन्तरिम सरकार गठन भयो, तर संसद् विघटनमा हामी सहमत थिइनौं। राष्ट्रपति र प्रधानमन्त्री सुशीलाको सिफारिसमा विघटन गरिएको हो।’
साथै प्रचण्डले तत्कालीन दुई ठुला दल—नेपाली कांग्रेस र नेकपा एमाले—का कारण देश संकटमा परेको आरोप पनि दोहोर्याए। उनले भने, ‘राम्रो गर्दै गर्दा पनि दुई ठुला दलहरूले सहन सकेनन् र जबर्जस्ती सरकारबाट हटाए। संविधानको उल्लङ्घन गरेर गरिएको यो कदमको परिणाम राम्रो हुँदैन भनेर मैले संसदमा चेतावनी दिएको थिएँ, तर उनीहरूले सुनेनन्।’
प्रचण्डका यी भनाइहरूले संसद् विघटन र तत्कालीन राजनीतिक निर्णयका सम्बन्धमा विवादित घटनाक्रमप्रति उनको स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया