काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीमा आ–आफ्ना स्वार्थका लागि मात्र च्याँखे थाप्ने गतिविधिमा नलागी देश निर्माणको महाअभियानमा जोड दिएको बताएका छन्।
सोमबार राष्ट्रिय सभा गृहमा पार्टीले आयोजना गरेको बृहत् एकता समायोजन कार्यक्रममा बोल्दै वाग्लेले समावेशी शासन र सामाजिक न्यायको पक्षमा पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे।
उनले भने, ‘रविजीले २०७९ सालमा ठूलो आँट र जोखिम लिएर पार्टी खोल्नुभयो। उहाँले अहिलेको खुम्चिँदो पार्टीबाट भविष्य खोज्न सक्नुभयो, तर त्यो बाटो रोज्नु भएन। २१ सिट मात्र हुँदा कसरी न्याँकेर अचेट्ने रहेछन् भन्ने कुरा संसद्मा देखियो। हामी च्याँखे थाप्ने वा म्याजिक नम्बर इदर–उदर गर्ने पार्टीमा रमाएनौँ। अब हामी बहुमतका साथ अगाडि बढेर देश बनाउने महाअभियानमा लाग्नेछौँ।’
डा. वाग्लेले भने, ‘देशको अनुहार जस्तो छ, पार्टी र राज्यको अनुहार पनि त्यस्तै हुनुपर्छ। यसै प्रतिबद्धतामा हामी अघि बढिरहेका छौँ।’
उनका यी भनाइहरूले पार्टीको बहुमत र सामाजिक न्याय, समावेशी शासनतर्फको प्रतिबद्धता अझ स्पष्ट पारेको विश्लेषकहरूले बताएका छन्।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया