काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कवि, कलाकार र मोडलहरू राजनीतिमा प्रवेश गर्नुको कारणबारे स्पष्ट पारेका छन्। सोमबार आयोजित बृहत् राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले राजनीति सही दिशामा नचलेका कारण विभिन्न पेशामा आबद्ध व्यक्तिहरू हस्तक्षेप गर्न बाध्य भएको बताए।
कवि, कलाकार र मोडलहरू राजनीतिमा आएको भन्दै चिन्ता व्यक्त गरिँदै आएको उल्लेख गर्दै लामिछानेले भने, “कविलाई कविता लेख्न, कलाकारलाई कलाकारिता गर्न, मोडललाई आफ्नो पेशाबाट जीवनयापन गर्न तपाईंहरूले वातावरण दिनुभएन। त्यसैले उनीहरू हस्तक्षेप गर्न बाध्य भएका हुन्।” उनले देश अप्ठ्यारो अवस्थामा पुगेका बेला हरेक पेशाकर्मीले जिम्मेवारी लिनुपर्ने अवस्था आएको पनि स्पष्ट गरे।
उनका अनुसार राजनीति गर्नेहरूले सही ढंगले राजनीति नगर्दा मुलुक संकटतर्फ धकेलिएको छ। “यो हस्तक्षेप गर्ने समय हो,” भन्दै उनले अहिलेको अवस्था सामान्य नभएको जिकिर गरे।
लामिछानेले पुराना राजनीतिक दलहरूलाई परिवर्तन स्वीकार्न र आफ्ना कमजोरीहरू आत्मस्वीकार गर्न आग्रह गरे। “परिवर्तन स्वीकार्न गाह्रो मानिरहेको देखिन्छ। विनम्रतापूर्वक भन्न चाहन्छु—आफ्नो असक्षमता स्वीकार्नुस्। मुलुक निकै जरजर अवस्थामा पुगिसकेको छ,” उनले भने।
त्यसैगरी, उनले देशलाई थप अस्थिरतातर्फ लैजाने सपना नदेख्न पनि चेतावनी दिए। पछिल्ला वर्षहरूमा कुशासनका कारण देश यो अवस्थामा पुगेको उल्लेख गर्दै उनले निर्वाचन प्रक्रियालाई सहज रूपमा अघि बढ्न दिन आग्रह गरे। “अब थप गएगुज्रेको बहिर्गमनको सपना नदेख्नुस्,” उनले भने।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया