काठमाडौं । नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको सातौँ पूर्ण बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. २ बाट गोकुल बाँस्कोटालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।
आज बसेको प्रतिनिधिसभा क्षेत्र नं. २ निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले बाँस्कोटाको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गर्दै उक्त प्रस्ताव जिल्ला कमिटीमा पेस गरेको थियो। क्षेत्रीय कमिटीका संयोजक कृष्णप्रसाद दाहालले निर्णयअनुसार एकल नाम जिल्ला कमिटीमा पेस गरेका हुन्।
जिल्ला कमिटी बैठकले क्षेत्रीय कमिटीहरूबाट प्राप्त सिफारिसहरूलाई अनुमोदन गर्ने निर्णय गरेको छ।
गोकुल बाँस्कोटाले एमालेको हालै सम्पन्न महाधिवेशनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका थिए भने झिनो मतान्तरले पराजित भएका थिए।
यस्तै, काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ बाट १० जनाको नाम सिफारिस गरिएको छ। काभ्रे–१ बाट सिफारिस हुनेमा एमाले केन्द्रीय सदस्य अमित लामा सहित ९ जना पुरुष र महिलातर्फ नवीना लामा रहेका छन्।
सिफारिस सूचीमा चन्द्र लामा, रेशम लामा, राकेश लामा, टुल्कु लामा, रामहरि सुवेदी, कुलचन्द्र अधिकारी, कान्छामान तामाङ (रक्तिम) र दीपक चौलागाईं लगायतका नेताहरूको नाम समावेश छ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया