काठमाडौं । जेन–जी आन्दोलनकी अगुवा रक्षा बमले नेपाली कांग्रेसलाई नेकपा एमालेको राजनीतिक बाटो नअपनाउन र यथास्थितिवादमा अल्झिन नहुने सुझाव दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ‘आदरणीय कांग्रेसीजन’ शीर्षकमा खुला पत्र सार्वजनिक गर्दै उनले कांग्रेसभित्र जारी महाधिवेशन केन्द्रित बहसप्रति आफ्नो स्पष्ट धारणा राखेकी हुन् ।

बमले नियमित महाधिवेशनको पक्षमा उभिनु हालै देखिएको आन्दोलन, असन्तोष र परिवर्तनको जनचाहनालाई अस्वीकार गर्नु सरह भएको उल्लेख गरेकी छन् । नेपाली राजनीतिमा ‘नियमितताको ब्रेक’ भदौ २३ गतेबाटै लागिसकेको दाबी गर्दै उनले त्यस दिनको घटनाले देशको राजनीतिक अवस्था सामान्य सीमाभन्दा निकै पर पुगिसकेको स्पष्ट पारेकी छन् ।

advertisement

तत्कालीन कांग्रेस नेतृत्व सम्मिलित सरकारले निहत्था विद्यार्थीमाथि गोली चलाएको घटनालाई स्मरण गराउँदै बमले भदौ २३ को घटना लामो समयदेखि सञ्चित राज्यको बेथिति, अकर्मण्यता र जननिराशाको विस्फोट भएको टिप्पणी गरेकी छन् । उक्त अवस्थाको जिम्मेवारीबाट कांग्रेस पनि उम्किन नसक्ने उनको आरोप छ ।

कांग्रेसभित्र अहिले नियमित कि विशेष महाधिवेशन भन्ने विषयमा चर्को बहस चलिरहेको सन्दर्भमा बमले विशेष महाधिवेशन अपरिहार्य रहेको जिकिर गरेकी छन् । नियमित महाधिवेशनको रटान गर्नेहरूले आन्दोलनको मर्म र परिवर्तनको चाहनालाई बेवास्ता गरिरहेको उनको निष्कर्ष छ । उनले पार्टीभित्रकै युवा पुस्ताले परिवर्तनको माग उठाउँदा नेतृत्वले त्यसलाई दबाउन खोजेको आरोप पनि लगाएकी छन् ।

परिवर्तनको आवाज उठाउँदा जनताका छोराछोरीले ज्यान गुमाउनु परेको र सयौँ युवा घाइते भएको अवस्थामा यथास्थितिवाद हावी भए देश ‘मास डिप्रेसन’ तर्फ धकेलिने खतरा रहेको बमको चेतावनी छ । उनले एमालेले विधानलाई पन्छाएर पुरानै नेतृत्वलाई निरन्तरता दिँदै निराशा बाँड्ने बाटो रोजेको टिप्पणी गर्दै कांग्रेसलाई त्यही गल्ती नदोहो¥याउन आग्रह गरेकी छन् ।

कांग्रेस नेतृत्वलाई प्रश्न गर्दै बमले एमालेकै पदचाप पछ्याएर युवा पुस्तालाई धोका दिने कि देशको भविष्य कोर्ने नयाँ राजनीतिक ‘बगैंचा’ निर्माणमा साथ दिने भन्ने निर्णायक घडी आएको उल्लेख गरेकी छन् । असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक पर्ने भन्दै उनले विशेष महाधिवेशन नै आजको आवश्यकता भएको ठोकुवा गरेकी छन् ।

चुनाव नजिकिँदै गएको र मतदाता परिवर्तनको पक्षमा उभिन तयार रहेको अवस्थामा कांग्रेसको आजको निर्णयले नै पार्टी र देशको भविष्य निर्धारण गर्ने उनले निष्कर्ष निकालेकी छन् ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com