काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार क्लब गठन गर्ने तयारी थालेको छ । उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउनका लागि पार्टीले यो नयाँ अवधारणा अघि बढाउने भएको हो।

रास्वपाको सचिवालय बैठक आज दिउँसो २ बजे बस्ने कार्यसूचीमा उम्मेदवार क्लबको विषय पनि छलफलका लागि राखिएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा कुल १० वटा एजेन्डा रहनेछन्, जसमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवार अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति विस्तार, पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश र जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम आदि समावेश छन्।

advertisement

उम्मेदवार क्लब अवधारणाअनुसार स्थानीय तहका उम्मेदवार केन्द्रीत हुनेछन्। वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवार बन्न इच्छुकले क्लबमा नाम दर्ता गराउनुपर्नेछ। क्लबमा दर्ता भएका उम्मेदवारलाई पार्टीले प्रशिक्षण दिनेछ, जसले पदमा आएपछि गर्नुपर्ने जिम्मेवारी र कामको पूर्व तयारीमा सहयोग पुग्नेछ।

यो अवधारणाको विचार पहिलोपटक पार्टी सभापति रवि लामिछाने ले २०८० साल मंसिर ११–१३ गते महोत्तरीमा भएको केन्द्रीय तथा संसदीय दलको बैठकमा अघि सारेका थिए। सचिवालय बैठकमार्फत यसलाई अगाडि बढाउने निर्णय गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन्।

नेताहरूका अनुसार उम्मेदवार क्लबमा दर्ता हुने व्यक्तिले निर्वाचित भएमा आफूले गर्ने कार्य पार्टीसमक्ष प्रस्तुत गर्न सक्नेछन्। तर क्लबमा नाम दर्ता भएकाले पार्टीको राजनीतिमा सक्रिय रहन अनिवार्य छैन। यस अवधारणाले उम्मेदवारलाई पूर्व तयारी र जिम्मेवारीबोध सहित निर्वाचन प्रक्रियामा सहभागी गराउने उद्देश्य राखेको छ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com