काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध ढंगले बदनाम गर्ने प्रयास भइरहेको भन्दै गम्भीर टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले सचिवालय बैठकमा विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एउटै समूहमा जम्मा गरिएको आरोप लगाउँदै देशको हितका विरुद्ध काम भइरहेको बताए।

ओलीले विशेष रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, र ऊर्जा मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै भने, ‘कतिपय व्यक्ति स्वार्थका कारण ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न छन्। विकासको नाममा आइएनजिओ र डोनरको एजेन्डा बोकेर आउनेहरू राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने षड्यन्त्रमा संलग्न देखिन्छन्।’

advertisement

अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनालाई हेर्दा, नेपाली जनताको देशभक्ति र राष्ट्रियताको भावना अत्यन्त सशक्त रहेको भए पनि त्यस आन्दोलनलाई सही ढंगले स्वीकार गर्ने साहस उनीहरूले नगरेको उल्लेख गरे। ‘न त उनीहरूले आन्दोलनको जिम्मेवारी लिए, न त देशलाई क्षति पुर्‍याउने कामबाट पन्छिन सके। अन्ततः देश ध्वस्त पार्ने कार्यको जिम्मेवारी उनीहरूले लिनुपर्ने अवस्था आएको छ,’ ओलीले भने।

ओलीले धनुषा र वीरगन्जमा सामाजिक विद्वेष भड्काउने र द्वन्द्व सृजना गर्ने गतिविधिप्रति गम्भीर हुने आवश्यकताको पनि जोड दिएका छन्। यस्ता गतिविधिहरूले सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई कमजोर पार्न सक्ने उनको चेतावनी छ।

अध्यक्ष ओलीले बैठकमा सबै सम्बन्धित पक्षलाई यी गतिविधि तत्काल रोक्न, दोषीमाथि कारबाही गर्न र शान्ति–सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक अनुरोध पनि गरेका छन्।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com