काठमाडौं । नेकपा (एमाले)ले हालै सम्पन्न ११औँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका नेता विष्णु रिमाललाई पार्टीका तीनवटा महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ।
एमालेको मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचनको तयारीलाई मध्यनजर गर्दै विभिन्न समिति र विभागमा रिमाललाई महत्वपूर्ण भूमिका प्रदान गरेको हो। महाधिवेशनमा पदाधिकारीमा पराजित भए पनि अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने रिमाललाई पार्टीले निर्वाचन तयारीमा कुञ्जी भूमिका (‘की रोल’) मा अघि सारेको बताइएको छ।
यसअनुसार, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठन भएको निर्वाचन परिचालन समितिमा रिमाललाई सचिवको जिम्मेवारी दिइएको छ। त्यस्तै, अध्यक्ष ओलीको संयोजकत्वमा रहेको घोषणापत्र मस्यौदा समितिमा पनि उनलाई सदस्य तोकिएको छ।
साथै, एमालेको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा पनि रिमाललाई चयन गरिएको छ। सचिवालय बैठकले नियमावली संशोधन गर्दै अध्यक्ष ओलीको प्रस्तावमा रिमाललाई प्रतिष्ठानको अध्यक्ष बनाउने निर्णय गरेको हो।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












प्रतिक्रिया