काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमाले, नेपाली कांग्रेस र अन्य कम्युनिष्ट दलहरूबीच सहकार्य आवश्यक रहेको विचार व्यक्त गरेका छन्।
बस्नेतका अनुसार, वैदेशिक षड्यन्त्रलाई निरुत्साहित गर्न तीनै दलबीच सहकार्य महत्वपूर्ण रहेको पार्टीभित्रको धारणा हो।
मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले आगामी निर्वाचनलाई आन्दोलनको रूपमा अघि बढाइने बताउँदै भने, ‘आम निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको अवसरका रूपमा उपयोग गरिनेछ।’
उनले प्रतिनिधिसभाको आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउन सक्ने अवस्था रहेको दाबी गरे। तर उच्चस्तरीय समझदारी र सहकार्य भएमा गठबन्धनको विकल्प पनि खुला रहेको उनले औँल्याए।
बस्नेतले ठूला दलहरू मिल्दा देशलाई राजनीतिक निकास दिन सहज हुने भए पनि त्यस्तो अवस्थामा घोषित मितिमा निर्वाचन सम्पन्न गराउन कठिनाइ हुनसक्ने सम्भावनाको समेत संकेत गरेका छन्।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












प्रतिक्रिया