काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार गलत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक पेजमार्फत धारणा सार्वजनिक गरेका शर्माले निधिमाथिको आक्रमणलाई गलत भनेका छन् ।
“आज अग्रज नेता विमलेन्द्र निधि कार्यालय पुग्दैगर्दा भएको दुर्व्यवहार विल्कुलै गलत छ, शर्माले भनेका छन्, “यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु र राजनीतिमा स्वस्थ राजनैतिक व्यवहारलाई मात्रै प्रोत्साहित गर्नु हामी सबैको कर्तव्य हो ।
निधिमाथिको दुर्व्यवहारलाई विशेष महाधिवेशन पक्षधरसँग जोड्ने प्रयत्नलाई भने शर्माले दुखद र निन्दनीय भनेका छन् । “स्वयं नेता निधिले विशेष महाधिवेशन पक्षधरले होइन अरुले गरेको बुझेँ भनेर मिडियामा थप स्पष्ट गर्नुभएकै छ,” शर्माले भनेका छन्,” यस्तो तथ्यका बाबजुद विशेषका पक्षधर साथीहरूलाई त्यसमा छिटा पार्ने प्रयास देखिनु दुखद छ र निन्दनीय पनि छ ।”
मंगलबार कार्यसम्पादन समितिको बैठकमा जाने क्रममा निधिलाई बाहिरी गेटभन्दा बाहिर विशेष महाधिवेशन चाहियो भन्दै केही कार्यकर्ताले दुर्व्यवहार गरेका थिए ।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार













प्रतिक्रिया