काठमाडौ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार सानेपास्थित पार्टी कार्यालय बाहिर नेता विमलेन्द्र निधिमाथि भएको व्यवहार गलत भएको बताएका छन्।

मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा कार्यसम्पादन समिति बैठक बसिरहेको बेला विशेष महाधिवेशनको माग गर्दै केही कार्यकर्ताले प्रदर्शन गरेका थिए। बैठकमा सहभागी हुन पुगेका नेता निधिलाई उनीहरूले घेरेर विशेष महाधिवेशन हुने–नहुनेबारे प्रश्न गरेका थिए।

advertisement

यस विषयमा प्रतिक्रिया दिँदै महामन्त्री थापाले पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा व्यक्त गरेको धारणा सही रहेको भन्दै आफू त्यससँग सहमत रहेको बताएका छन्। उनले विधि र प्रक्रियाभन्दा बाहिर जाने कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले असल प्रजातन्त्रवादीले ‘सत्यको अनेकता’ मा विश्वास गर्ने र फरक विचार राख्ने व्यक्तिको सम्मान गर्नुपर्ने उल्लेख गरेका छन्। फरक मत राखेकै कारण कुनै किसिमको घटना भएको भए त्यो झनै निन्दनीय हुने उनको भनाइ छ।

महामन्त्री थापाले नेपाली कांग्रेस परिवर्तन चाहने पार्टी भएको उल्लेख गर्दै परिवर्तनको चाहनामा विधि, विधान र प्रक्रियाभन्दा बाहिर जान नमिल्ने बताएका छन्। साथै, पार्टीभित्र देखिने असहमतिका विषयहरू पनि प्रक्रियामार्फत नै समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्।

अन्त्यमा उनले कांग्रेसका सबै शुभेच्छुक र कार्यकर्तालाई प्रक्रियामा विश्वास गर्न आग्रह गर्दै सबै कांग्रेसजन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com