काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धन गर्नेबारे न त कुनै छलफल भएको छ, न त भविष्यमा नै हुने बताएका हुन्। उनका अनुसार नेकपा आगामी निर्वाचनमा एक्लै सहभागी हुनेछ।
भारत भ्रमणमा जानुअघि आफूले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरे पनि उक्त छलफलमा गठबन्धनको विषय उठेन। “गठबन्धनको कुनै पनि कुरा भएको छैन। भेटघाट त विभिन्न कामका सिलसिलामा हुन्छन्, तर गठबन्धन भएको छैन र हुने पनि छैन,” उनले भने।
संयोजक दाहालले रवि लामिछाने र बालेन शाहलगायतको सम्भावित एकताबाट आफूहरू नडराएको पनि बताए। “हामी रवि–बालेनको गठबन्धनबाट बिल्कुल डराएका छैनौँ। रविलाई मैले आफ्नै क्याबिनेटमा दुईपटक गृहमन्त्री बनाएको हुँ। उहाँसँग कुरा गर्न मलाई कुनै आइतबार कुर्नु पर्दैन। हामी डराएका छैनौँ,” उनले स्पष्ट पारे।
प्रचण्डले प्रवास कमिटीको एकता सभामा सहभागी हुन भारत गएको जानकारी दिँदै त्यसक्रममा भारतीय राजनीतिक दलका नेताहरूसँग भेटघाट भएको स्वीकार गरे। तर ती भेटहरू औपचारिक राजनीतिक वार्ता नभएको उनले जिकिर गरे।
“पार्टी एकता भएपछि हामीले सबै प्रदेशमा एकता सभा गरिसकेका छौँ। दिल्लीमा पनि एकता सभा आयोजना गरिएको थियो। म मुख्यतः त्यही कार्यक्रममा सहभागी हुन भारत गएको हुँ। त्यहाँ पुगेपछि विभिन्न किसिमका भेटघाट हुनु स्वाभाविक हो। हाम्रो राजदूत आउनुभयो, भारतीय जनता पार्टी (भाजपा)का नेताहरूले स्वागत र सम्मान गर्नुभयो। तर कुनै औपचारिक राजनीतिक कुराकानी भएको छैन,” उनले भने।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार












प्रतिक्रिया