काठमाडौ । देशभर आज उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने तयारी गरेको छ। यस निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यका लागि निर्वाचन हुनेछ।

आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो। त्यसपछि मतदाता नामावलीमा परेका दाबी–विरोधको छानबिन गर्दै मंगलबार अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिएको छ।

advertisement

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारविरुद्ध उजुरी दिने मिति पुस २४ गते तोकिएको छ भने पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ।

यसैगरी, पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। मतदान भने आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ अनुसार मतदाता संख्या र मतभारसमेत सार्वजनिक गरिसकेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com