काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशनको मिति सार्ने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ दर्ज गराएका थिए। पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पुस २६ देखि २८ गतेसम्म तय गरिएको नियमित महाधिवेशनको कार्यतालिका परिवर्तन गरी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयप्रति महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसीले औपचारिक असहमति जनाएका थिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन अपरिहार्य रहेको भन्दै जसरी पनि विशेष महाधिवेशन गरिने दाबी गरेका थिए।

advertisement

महामन्त्रीद्वयको निर्देशनमा महाधिवेशन प्रतिनिधिहरूबाट हस्ताक्षर सङ्कलन गरी २ हजार ४८८ प्रतिनिधिले असोज २९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै पत्र बुझाएका थिए। पत्रमा कारण खुलाएर विशेष महाधिवेशन बोलाउन आग्रह गरिएको थियो।

कांग्रेस विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारणसहित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। यही संवैधानिक प्रावधानको आधारमा महामन्त्रीद्वयले पुस मसान्तभित्र विशेष महाधिवेशन घोषणा हुने दाबी गर्दै आएका थिए।

सोही दाबीअनुसार विशेष महाधिवेशन पक्षधर समूहले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ।

तर विशेष महाधिवेशन घोषणा गरिएको उक्त कार्यक्रममा पुस मसान्तभित्रै विशेष महाधिवेशन गरिने भन्दै आएका महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री मन्सुर तथा कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसी र जीवन परियार (रेग्मी) उपस्थित देखिएनन्।

घोषणा सभामा भने केन्द्रीय सदस्यहरू प्रकाश स्नेही रसाइली, प्रतिमा गौतम र अजयबाबु सिवाकोटीलगायत नेता सहभागी भएका थिए। साथै काठमाडौं जिल्ला सभापति सबुज बानियाँ पनि पत्रकार सम्मेलनमा उपस्थित थिए।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com