काठमाडौं । प्रहरीमाथि चक्कु प्रहार गर्ने मोटरसाइकल चोरी गिरोहका चार जना पक्राउ परेका छन्। मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि उनीहरूले चक्कु प्रहार गरेका थिए। घटनामा एक जना प्रहरी घाइते भएका छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिकै रहेको एक रेष्टुरेन्टमा प्रहरी टोली र चोरीमा संलग्न समूहबीच जम्काभेट भएको थियो। सो क्रममा गिरोहले प्रहरीमाथि चक्कु प्रहार गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सञ्जीव केसी घाइते भएका हुन्।
घाइते सई केसीको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले चक्कु प्रहार तथा चोरीमा संलग्न २६ वर्षीय सागर शङ्खर सोती, २५ वर्षीय सन्तोष दुलाल, २० वर्षीय वीरेन्द्र मलिक र २७ वर्षीय अभय तुलाधरलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया