काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र पूर्वमन्त्री कुलमान घिसिङले आगामी कम्तीमा २० वर्षसम्म कुनै पनि निर्वाचन जित्न नसक्ने दाबी गरेका छन्।

काठमाडौंमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले ती नेताहरूप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका हुन्।

advertisement

ओलीले मुलुकमा निर्वाचन भए एमालेले नै जित्ने दाबी गर्दै एमाले र कांग्रेस चुनाव जित्ने भएकै कारण निर्वाचन नगराउने भन्ने हल्ला फैलाइएकोप्रति आपत्ति जनाए। निर्वाचन लोकतन्त्रको आधार भएको उल्लेख गर्दै उनले कुनै व्यक्ति वा समूहको जित–हारको अनुमानका आधारमा चुनाव गराउने वा नगराउने सोच अस्वीकार्य भएको बताए।
“चुनाव भयो भने हामी सहभागी हुन्छौँ र चुनाव जित्छौँ,” ओलीले भने, “एमाले–कांग्रेसले जित्ने भए चुनाव नगराउने रे, अनि फलानाले जित्ने भए मात्रै गराउने रे। ती फलाना–फलाना अब आउँदो कम्तीमा २० वर्ष चुनाव जित्नेवाला छैनन्।”

उनले केही व्यक्तिलाई अस्वाभाविक रूपमा ठूलो बनाउने प्रयास भइरहेको भन्दै त्यसप्रति पनि कटाक्ष गरे। विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लक्षित गर्दै उल्लेखनीय काम नगरेकालाई पनि महान काम गरेको भन्दै प्रचार गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे। “केही पनि काम नगरेको मान्छेलाई महान काम गरेको भनेर भन्नु उचित हुँदैन,” ओलीले भने, “मूल्यांकन कामका आधारमा हुनुपर्छ, प्रचार र हल्लाका आधारमा होइन।”

ओलीले सरकार र राज्य संयन्त्रमाथि पनि प्रश्न उठाए। पछिल्लो समय न्यायालयमाथि धम्की आउन थालेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा निष्पक्ष र सुरक्षित निर्वाचन कसरी सम्भव हुन्छ भन्ने प्रश्न गरे। “न्यायालयसम्म धम्की आउने स्थिति छ भने निर्वाचन कसरी गरिन्छ ?” भन्दै उनले सरकार निर्वाचनको तयारी र लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्नुभन्दा अन्यत्र ध्यान केन्द्रित गरेको आरोप लगाए।

कार्यक्रममा ओलीले एमाले संगठनात्मक रूपमा बलियो रहेको र आगामी कुनै पनि निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको दाबी गरे। जनताको समर्थन एमालेतर्फ नै केन्द्रित हुने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई कमजोर देखाउने प्रयास असफल हुने बताए। ओलीका अनुसार राजनीतिक स्थायित्व, विकास र राष्ट्रिय हितको रक्षा एमालेबाट मात्र सम्भव छ। उनका यी अभिव्यक्तिलाई पछिल्लो समय उदाउँदै आएका वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र पहिचान बनाएका नेताहरूप्रति लक्षित सन्देशका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com