काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ ।
मुलुक बचाउने नागरिक (ममुबना) अभियानका प्रमुख युवराज सफलले फर्जी आयोजक र जाली निमन्त्रणापत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको आरोप लगाउँदै अख्तियारमा उजुरी दिएका हुन् । उजुरीमा आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल : पोस्ट जेन–जी रिभोल्युसन’ शीर्षकको कार्यक्रम न त नेपाल सरकार, न अमेरिकी सरकार, न त नेपाली दूतावासको आधिकारिक अभिलेखमा रहेको दाबी गरिएको छ ।
उजुरीकर्ताले मन्त्री गुप्ताले आफ्नो पद र हैसियतको दुरुपयोग गर्दै सामूहिक रूपमा अमेरिका जान खोजिएको उल्लेख गर्दै यस घटनालाई संगठित मानव तस्करीसँग जोडेर गहिरो अनुसन्धान गर्न माग गरेका छन् । साथै, अमेरिका भ्रमण स्वीकृतिसम्बन्धी मन्त्रिपरिषद्को निर्णय, निमन्त्रणापत्रको प्रामाणिकता, आयोजक संस्थाको कानुनी वैधता तथा भ्रमणमा सहभागी हुने टोलीको सम्पूर्ण विवरण झिकाएर छानबिन गर्नुपर्ने माग पनि उजुरीमा गरिएको छ ।
अख्तियारमा दर्ता उजुरीमा दोषी प्रमाणित भएमा मन्त्री गुप्ताविरुद्ध मानव तस्करीसमेतको अभियोगमा कानुनी कारबाही गर्न र अनुसन्धान अवधिभर उनलाई मन्त्री पदबाट निलम्बन गर्न माग गरिएको छ ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया