काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ नलैजाने स्पष्ट पारेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले विशेष महाधिवेशनले कांग्रेसलाई अझ संगठित, ऊर्जावान र गतिशील बनाउने दाबी गरेका हुन्।

महामन्त्री शर्माले विशेष महाधिवेशन पार्टी फुटाउने माध्यम बन्ने भ्रम फैलाइएकोप्रति आपत्ति जनाउँदै भने, “विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजन हुँदैन। यदि त्यस्तो अवस्था आयो भने हलबाट सबैभन्दा पहिले म स्वयं बाहिर निस्किनेछु र पार्टी विभाजन रोक्न सबैसँगै उभिनेछु।”

advertisement

उनका अनुसार पार्टी विधानको रक्षा गर्नु नै वास्तविक एकताको आधार हो। आगामी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनले समयको मागअनुसार पार्टीलाई नयाँ ऊर्जा, स्पष्ट दिशा र ताजगी प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।

कांग्रेस विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको स्मरण गराउँदै शर्माले विशेष महाधिवेशन पूर्णतः संवैधानिक प्रक्रिया भएको स्पष्ट पारे। उनले भदौ २२ पछिको बदलिएको राष्ट्रिय राजनीतिक अवस्था र पार्टीभित्र देखिएका चुनौतीको सामना गर्न विशेष महाधिवेशन आवश्यक भएको तर्क गरे।

महामन्त्री शर्माले विशेष महाधिवेशनले फागुन २१ गते हुने निर्वाचनलाई असर नपार्ने, बरु सकारात्मक प्रभाव पार्ने बताए। “निष्क्रिय र थकित कांग्रेसभन्दा सक्रिय र जागृत कांग्रेसले निर्वाचनमा राम्रो परिणाम दिन्छ,” उनले भने, “त्यसैले सबै मिलेर विशेष महाधिवेशनलाई भव्य र सफल बनाऔँ, नयाँ संकल्प गरौँ र नयाँ जागरण सिर्जना गरौँ।”

उनले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका तथा नगरेका सबै महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन आह्वान गर्दै बदलिएको समय, परिस्थिति र चुनौतीलाई आत्मसात् गर्दै पार्टीलाई नयाँ दृष्टि र दिशातर्फ लैजान विशेष महाधिवेशन अपरिहार्य भएको धारणा राखे।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com