एजेन्सी । पेरुको राजधानी लिमा हुँदै आएको एलएटीएएम एयरलाइन्सको एक विमान अवतरणका क्रममा अमेरिकाको एटलान्टास्थित हार्टस्फिल्ड–ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर आपत्कालीन स्थिति सिर्जना भएको छ।
करिब सात घण्टाको उडानपछि एटलान्टा पुगेको एलएटीएएम उडान नम्बर २४८२ (बोइङ ७६७) मंगलबार अवतरण गर्ने क्रममा अचानक समस्यामा परेको हो। अवतरणकै बेला विमानका आठैवटा ल्यान्डिङ टायर एकैसाथ फुटेपछि ठूलो विस्फोटको आवाज आएको र धुवाँको मुस्लो उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
विमान अवतरण लगत्तै यात्रु र विमानस्थलका कर्मचारीहरूले विस्फोटजस्तो आवाज सुनेका थिए। केही सेकेन्डमै टायरतर्फबाट बाक्लो धुवाँ निस्किन थालेपछि आपत्कालीन अवस्था घोषणा गरिएको थियो। यद्यपि, उक्त घटनामा कुनै पनि यात्रु घाइते भएनन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार विमानभित्र भने केही क्षति देखिएको छ। केही क्याबिन प्यानल भत्किएका थिए भने बाथरूमको ढोकाको ह्याण्डल समेत फुस्किएको थियो। यात्रुहरूले अवतरणका क्रममा विमान लामो समयसम्म धावनमार्गमा असामान्य रूपमा हल्लिएको अनुभव सुनाएका छन्, जसले विमानभित्र डर र त्रासको वातावरण सिर्जना गरेको थियो।
घटनापछि विमानमा सवार २२१ यात्रुहरूलाई टर्मिनलमा लैजानुअघि करिब दुई घण्टासम्म धावनमार्गमै बस्नुपरेको थियो। सुरक्षाका दृष्टिले धावनमार्ग केही समयका लागि बन्द गरिएको भए पनि विमानस्थलका अन्य सेवा भने सामान्य रूपमा सञ्चालन भइरहेका थिए।
हवाई विज्ञहरूका अनुसार विमानका आठै टायर एकैसाथ फुट्नु अत्यन्तै दुर्लभ घटना हो। प्रारम्भिक अनुमानअनुसार विमानको स्वचालित ब्रेक प्रणालीमा खराबी आएर ब्रेक लक भएको र अत्यधिक घर्षणका कारण टायरहरू फुटेको हुनसक्ने आशंका गरिएको छ। घटनाको विस्तृत प्राविधिक अनुसन्धान भइरहेको र आधिकारिक कारण पुष्टि भएपछि मात्र सार्वजनिक गरिने बताइएको छ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार













प्रतिक्रिया