काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकभित्र र बाहिरबाट परिचालित केही शक्तिहरूले एमाले कमजोर पारेर आफू बलियो बन्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन्। पार्टी सचिवालय र केन्द्रीय कमिटीको निर्णयअनुसार मातहतका कमिटीहरूलाई सर्कुलर जारी गर्दै अध्यक्ष ओलीले यथार्थ अवस्था लिएर जनताको घरदैलोमा पुग्न कार्यकर्ता पंक्तिलाई आग्रह गरेका हुन्।

उनले नेपाल भूराजनीतिक होडबाजीको चपेटामा परेको उल्लेख गर्दै नेकपा एमाले मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आएको अग्रणी पार्टी भएको बताए। मुलुकको रणनीतिक विकासको आधार तयार गर्ने र लोककल्याणकारी राज्यको अवधारणाअन्तर्गत सामाजिक सुरक्षाका कार्यक्रम अघि सारेर कमजोर वर्गको पक्षमा राज्यको उपस्थिति व्यवहारमा उतार्ने काम एमालेले नै गरेको उनको दाबी छ।

advertisement

यति धेरै योगदान हुँदाहुँदै पनि पार्टी र नेतृत्वमाथि तीव्र आक्रमण र घेराबन्दी भइरहेको प्रश्न उठाउँदै ओलीले यसको कारण स्पष्ट रहेको बताए। “एमाले कमजोर भए नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन सजिलो हुन्छ भन्ने सोचका आधारमा यस्तो गतिविधि भइरहेको छ,” उनले भने। उनका अनुसार मुलुकभित्रका कमजोर र परिचालित शक्तिहरू पनि एमालेविरुद्ध सक्रिय छन्।

अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएका विध्वंसात्मक घटनापछि सिर्जित असहज र असामान्य परिस्थितिमा पार्टी पंक्तिले देखाएको संयम, धैर्य र पहल प्रशंसनीय रहेको बताए। नेपाल राज्य, संविधान, लोकतन्त्र र मुख्य राजनीतिक दलहरूलाई कमजोर पारेर देशलाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने गम्भीर षड्यन्त्रअन्तर्गत नवयुवाहरूको भावना प्रयोग गरी उनीहरूको आन्दोलन अपहरण गरिएको उनको आरोप छ।

उनले नेकपा एमाले सूचना र प्रविधिसँगै हुर्किएको नयाँ पुस्ताको भावना र अपेक्षाको सम्मान गर्ने पार्टी भएको स्पष्ट गर्दै ‘जेन्जी विद्रोह’को नाममा युवालाई गलत दिशातर्फ डो¥याउने प्रयासको भने पार्टीले कडा विरोध गर्ने बताए।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com