काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दलबीच गठबन्धनको तयारी सुरु भएको छ। राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच भएको गठबन्धनलाई निरन्तरता दिँदै अब प्रतिनिधिसभा निर्वाचनमा पनि साझा चुनावी रणनीति बनाउने गृहकार्य सुरु गरिएको हो।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच चुनावी गठबन्धनको सम्भाव्यताबारे छलफल भइरहेको छ। नयाँ शक्ति एकजुट हुन थालेपछि प्रमुख दलबीच पनि गठबन्धनको विषयमा वार्ता सुरु भएको हो। राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन भएको थियो, जसमा जनता समाजवादी पार्टी पनि सहभागी भएको थियो।

advertisement

राष्ट्रियसभा निर्वाचनका क्रममा सुरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेकपा गठबन्धनमा सहभागी थियो। तर प्रचण्ड दिल्लीबाट फर्किएपछि नेकपा गठबन्धनबाट बाहिरिएको थियो। सीट बाँडफाँटमा सहमति नपाएपछि नेकपा गठबन्धनबाट अलग भएको हो। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कांग्रेस र एमाले पनि नजिकिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रैबाट महासचिव गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले एमालेसँग गठबन्धन नगर्न दबाब दिँदै आएका थिए। तर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटकपटक छलफल भएपछि गठबन्धनमा सहमति भएको स्रोतले दाबी गरेको छ।

स्रोतका अनुसार राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन भइसकेको छ र यो गठबन्धन प्रतिनिधिसभा निर्वाचनमा पनि हुनसक्ने सम्भावना छ। ‘जहाँ कांग्रेस र एमालेको उम्मेदवारलाई अरु पार्टीले जित्ने सम्भावना छ, त्यहाँ अनिवार्य गठबन्धन हुनेछ। तर जहाँ कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुनेछ र विजयी निश्चित छ, त्यहाँ गठबन्धन नहुन सक्छ,’ स्रोतले जनाएको छ।

देउवा र ओलीबीच भक्तपुर–१ बाहेकका सबै क्षेत्रका लागि गठबन्धन गर्ने विषयमा छलफल भइरहेको छ। कुल १६४ सिटमध्ये कांग्रेस र एमालेले ८२–८२ सिट लिने गरी वार्ता भइरहेको छ। त्यस्तै, निश्चित विजयी सिटमा मित्रवत प्रतिस्पर्धा गर्ने र बाँकी सिटहरू आधा–आधा बाँडफाँड गर्ने दोस्रो विकल्पमा पनि छलफल भइरहेको छ।

तेस्रो विकल्पका रूपमा २०७९ सालको निर्वाचनमा कुन पार्टीले जितेको थियो, त्यसको आधारमा बाँकी सिटमा मत प्रतिशत अनुसार भागबण्डा गर्ने प्रस्तावमा पनि छलफल भइरहेको छ। यस विषयमा दुबै पार्टीका नेता गहन अध्ययनमा जुटेका छन्।

स्रोतका अनुसार कांग्रेस र एमालेबीच १०० सिटमा प्रत्यक्ष प्रतिस्पर्धा हुनेछ, बाँकी सिटमा नेकपा, रास्वपा, राप्रपा, जसपा, आजपा, जनमतसहितका दलसँग प्रत्यक्ष प्रतिस्पर्धा हुने सम्भावना छ।

शहरी क्षेत्रमा (काठमाडौं उपत्यका) रास्वपा, सुदूरपश्चिम तथा कर्णालीमा नेकपा, मधेसमा जसपा, आजपा, जनमत र पूर्वमा श्रम संस्कृति पार्टीसँग प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता

देशमा चुनावी तयारी बढेसँगै प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार तीन घण्टाभन्दा लामो भेटवार्ता भएको छ। बालुवाटारमा पहिलोपटक ‘वान–टु–वान’ भेटवार्ता भएको हो।

ओलीले जेनजी आन्दोलनपछि सत्ता गुमाएपछि कार्की नेतृत्वको सरकारलाई अवैध र असंवैधानिक भन्दै आलोचना गर्दै आएका छन्। उनले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै अदालत पनि पुगेका छन्। भेटवार्तामा आगामी चुनावलाई केन्द्रमा राखेर चर्चा भएको बताइएको छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com