काठमाडौं । खेलकुदमन्त्री बब्लु गुप्ताको क्याबिनेटबाट स्वीकृत अमेरिका भ्रमण विवादमा परेको सन्दर्भमा शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री नियुक्त भएयता कुनै पनि विदेश भ्रमणमा नजाने निर्णयमा अडिग रहेको बताएका छन्।
मन्त्री पुनले मन्त्री बनेपछि विभिन्न देशबाट आएका विदेश भ्रमणका निमन्त्रणाहरू अस्वीकार गर्दै आएको जानकारी दिएका छन्। उनका अनुसार यसअघि आएका तीनवटा निमन्त्रणामा सहभागी नहुने निर्णय गरेका थिए भने हालै इजरायल र साउदी अरबबाट आएका दुईवटा निमन्त्रणामा पनि नजाने स्पष्ट गरेका छन्।
इजरायल र साउदी अरबमा आयोजना हुने कार्यक्रमका निमन्त्रणापत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै मन्त्री पुनले देशको अर्थतन्त्र सुदृढ नहुँदासम्म सरकार परिवर्तन वा नेतृत्व फेरिए पनि उल्लेखनीय प्रगति सम्भव नहुने टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, म मन्त्री भएपछि पहिले पनि आएका तीनवटा विदेश भ्रमणमा गइनँ। अहिले फेरि दुईवटा निमन्त्रणा आएको छ, यसमा पनि जान्नँ। देशको अर्थतन्त्र नबनुन्जेल जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही परिवर्तन हुँदैन। किनकि काम गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ र?
मन्त्री पुनको भनाइलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिन थालेको छ। कतिपयले उनको निर्णयलाई मितव्ययिता र जिम्मेवार नेतृत्वको उदाहरणका रूपमा प्रशंसा गरेका छन् भने केहीले कूटनीतिक सम्बन्ध विस्तारका लागि विदेश भ्रमण आवश्यक हुने तर्क गरेका छन्।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार













प्रतिक्रिया