काठमाडौं । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु हुन अब दुई दिन मात्र बाँकी रहँदा देशभरका विभिन्न जिल्ला कार्य समितिहरूले विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सक्रिय सहभागिताका लागि काठमाडौं आउन आह्वान गरेका छन्।
पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको विशेष महाधिवेशनका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक आह्वानपत्र जारी भइसकेको जनाइएको छ।
विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वर नरसिंह केसीका अनुसार महाधिवेशनमा सहभागिताका लागि जिल्ला समिति र नेताहरूको समर्थन दिनानुदिन बढ्दो क्रममा रहेको छ।
विज्ञप्ति जारी गर्ने जिल्लामा काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, बारा, कास्की, बाँके, रोल्पा, अर्घाखाँची, पाल्पा, गोरखा, तनहुँ, नुवाकोट, रसुवा, लमजुङ, उदयपुर, गुल्मी लगायतका जिल्ला रहेका छन्।
काँग्रेस पाल्पाका जिल्ला सभापति हिमाल श्रेष्ठले विशेष महाधिवेशन अपरिहार्य रहेको उल्लेख गर्दै जनतामा फैलिएको निराशा चिर्न, आगामी निर्वाचनमा शत्रुतापूर्ण राजनीतिक संस्कृतिको अन्त्य गर्न र मित्रवत प्रतिस्पर्धालाई स्थापित गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताए। उनले ‘जेन–जी आन्दोलन’को भावना अनुरूप युवाको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिए।
यसैगरी, काँग्रेस बारा जिल्ला सचिवद्वय राजेश रौनियार र भैयाराम प्रसाद यादवले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमार्फत जनताको आवाज, वर्तमान आवश्यकता र परिवर्तनको चाहनालाई सम्बोधन गर्दै अझ एकताबद्ध, ऊर्जाशील र परिवर्तनमुखी नेपाली काँग्रेस निर्माण गर्नु मुख्य उद्देश्य रहेको उल्लेख गरेका छन्।
काँग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीले पनि परिवर्तित राजनीतिक परिवेशमा पार्टीलाई समयअनुकूल रूपान्तरण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको बताए।
यसैबीच, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौंका लागि प्रस्थान गरिसकेका छन्। जनपरिचालन समितिका अनुसार सुदूरपश्चिमसहित सबै प्रदेशका जिल्लाबाट प्रतिनिधिहरू बस रिजर्भ गरी काठमाडौं आउने तयारीमा रहेका छन्।
‘जेन–जी आन्दोलन’पछि विकसित नयाँ राजनीतिक परिवेशबीच हुन लागेको आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले नयाँ सोच, नयाँ एजेन्डा र संगठनात्मक पुनर्संरचनासहित जनतामाझ जानुपर्ने आवश्यकताका कारण विशेष महाधिवेशन आयोजना गरिएको विशेष महाधिवेशन सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रारम्भमा कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेकामा हाल समर्थनको संख्या थप वृद्धि हुँदै गएको छ।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार













प्रतिक्रिया