काठमाडौं । स्वतन्त्र पार्टी (रास्वपा) सँग एकताको घोषणा भएसँगै कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीभित्र तीव्र असन्तुष्टि र आन्तरिक कलह सुरु भएको छ। संघीयता र धर्मनिरपेक्षता जस्ता गम्भीर सैद्धान्तिक विषयमा सहमति जुट्न नसकिरहेको अवस्थामा पद बाँडफाँड र पूर्वसहमति उल्लंघनका विषयले विवाद झन् चर्किएको हो।

उज्यालो नेपालका नेताहरूले रास्वपाको शीर्ष नेतृत्वको व्यवहारलाई ‘अपमानजनक’ ठहर गर्दै एकता प्रक्रियामाथि नै प्रश्न उठाउन थालेका छन्। यही सन्दर्भमा केहीबेरअघि काठमाडौंको बौद्धस्थित एक होटलमा उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो।

advertisement

बैठकमा पार्टी नेता कुलमान घिसिङले आज बिहान रास्वपाका सभापति रवि लामिछानेसँग भएको छलफल र त्यसको गाम्भीर्यबारे सदस्यहरूलाई जानकारी गराएका थिए। घिसिङले एकताका क्रममा भएका पूर्वसहमति कार्यान्वयनमा रास्वपा नेतृत्व इमानदार नदेखिएको निष्कर्ष प्रस्तुत गरेका छन्।

बैठकको निष्कर्षअनुसार रवि लामिछाने व्यक्तिगत रूपमा सकारात्मक देखिए पनि रास्वपाको सचिवालय र ‘कोर टिम’ ले सहमति पालना गर्न आवश्यक दबाब महसुस नगरेको र समझदारीलाई उपेक्षा गरेको ठहर गरिएको छ।

स्रोतका अनुसार एकताका क्रममा उज्यालो नेपाललाई ३० प्रतिशत प्रत्यक्ष उम्मेदवार, २६ जना केन्द्रीय सदस्य र १८ जना समानुपातिक उम्मेदवार दिने प्रारम्भिक समझदारी भएको थियो। तर हाल समानुपातिकतर्फ १८ जनाको सट्टा १४ जनाको मात्र नाम समावेश गरिएको र पहिल्यै सांसद बन्ने सुनिश्चित भएका ६ जनाको क्लस्टर नै हटाइएको भन्दै उज्यालो नेपालका नेताहरू आक्रोशित छन्।

निर्वाचन आयोगमा ५१ जना सदस्य अद्यावधिक रहेको उज्यालो नेपालको ९४ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूले वर्तमान ‘यथास्थिति’ मा एकतालाई अगाडि बढाउन नसकिने धारणा राखेका छन्। रास्वपाले ठूलो पार्टीको अहंकार देखाएको, आफ्ना उम्मेदवारहरूको नाम काटिएको र सम्मानजनक व्यवहार नगरेको आरोप बैठकमा तीव्र रूपमा उठाइएको थियो।

उज्यालो नेपालका नेताहरूले पार्टीको प्रतिष्ठा र आगामी निर्वाचनको तयारीलाई ध्यानमा राख्दै अपमान सहेर बस्नुभन्दा ठोस र निर्णायक कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com