काठमाडौँ । मुलुकको कुल विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा वृद्धि हुँदै २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको तथ्यांकअनुसार गत असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति मङ्सिर मसान्तसम्म १८.७ प्रतिशतले बढेको हो।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि बढ्दो क्रममा देखिएको छ। गत असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति मङ्सिर मसान्तसम्म २७.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। कुल विदेशी मुद्रा विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २२.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
चालू आवको पाँच महिनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले २१.७ महिनाको वस्तु आयात तथा १८.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ।
यद्यपि सेवा खातामा घाटा भने बढेको छ। चालू आवको पाँच महिनामा खुद सेवा आय ३६ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २६ अर्ब ६७ करोड रुपैयाँ थियो। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण आय ३.७ प्रतिशतले घट्दै ३३ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा यस्तो आय ३५ अर्ब २६ करोड रुपैयाँ थियो।
यसैबीच, भ्रमण व्यय भने बढ्दो देखिएको छ। पाँच महिनाको अवधिमा भ्रमण व्यय ५.३ प्रतिशतले वृद्धि भई ८८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय मात्रै ५६ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल भ्रमण व्यय ८४ अर्ब ५० करोड रुपैयाँ र शिक्षातर्फको व्यय ४७ अर्ब ४५ करोड रुपैयाँ थियो।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












प्रतिक्रिया