काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकताको विषय आज–भोलिमै टुङ्ग्याउने बताएका छन्। शनिबार रामेछाप पत्रकार समाजको पाँचौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सहमति नजुटे उज्यालो नेपाल पार्टीबाटै राजनीतिक यात्रा अघि बढ्ने स्पष्ट संकेत गरेका हुन्।

advertisement

घिसिङले एकताका केही विषयहरू अझै टुङ्गिन बाँकी रहेको उल्लेख गर्दै छिट्टै निर्णय गरेर अगाडि बढ्ने बताए। ‘उज्यालो नेपाल पार्टी दर्ता भइसकेको छ र त्यसमा मेरो पूर्ण साथ र सद्भाव छ,’ उनले भने, ‘देशको आवश्यकता र जनताको चाहनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताका लागि समझदारी भएको हो।’

तर उक्त समझदारी अन्तिम सहमतिमा नपुगे उज्यालो नेपाल पार्टीबाट नै चुनावी प्रतिस्पर्धामा जाने उनको संकेत छ। उनले आगामी संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने सम्भावनाबारे पनि चर्चा गरे, यद्यपि निर्वाचन क्षेत्र अझै निश्चित भइनसकेको स्पष्ट पारे।

‘रामेछाप मेरो प्रिय जिल्ला हो,’ घिसिङले भने, ‘त्यहाँबाट नउठ्ने भन्ने होइन, तर अहिले अन्य विकल्पहरू पनि हेर्दै छु। जहाँबाट उम्मेदवारी दिँदा चुनावी अभियान र नतिजा प्रभावकारी हुन्छ, त्यही विकल्प रोज्नेछु।’

उज्यालो नेपाल पार्टी आफ्नो सद्भाव र सहयोगमा दर्ता भएको उल्लेख गर्दै घिसिङले वर्तमान राजनीतिक परिस्थितिमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने समझदारी बनेको बताए। साथै, उनले आगामी निर्वाचन मुलुकको स्थायित्व, स्थिरता र सुशासनका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com