काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीको इतर समूहका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
शनिबार बिहान देउवा निवास महाराजगञ्जमा भएको उक्त भेटमा पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक परिस्थिति र विशेष महाधिवेशनको विषयमा छलफल भएको बताइएको छ। डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार दुवै नेताबीच विशेष महाधिवेशनलाई केन्द्रमा राखेर संवाद भएको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको मागको आधारमा पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्। उनीहरूको यो निर्णय आइतबारदेखि कार्यान्वयनमा जाने तयारीमा छ।
तर उक्त विशेष महाधिवेशनप्रति पार्टीको संस्थापन पक्ष र डा. शेखर कोइरालाको नेतृत्वमा रहेको समूह असहमत देखिएको छ। यही सन्दर्भमा विशेष महाधिवेशनलाई कसरी रोक्ने वा यसको प्रभाव कमजोर बनाउने भन्ने रणनीतिबारे छलफल गर्न डा. कोइरालाले सभापति देउवासँग भेट गरेको बुझिएको छ।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












प्रतिक्रिया