काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच घोषणा गरिएको एकता प्रक्रिया संकटमा परेको छ। एकता सम्झौता भएको दुई साता नपुग्दै दुवै पार्टीका शीर्ष नेताबीच भएका पटक–पटकका छलफल निष्कर्षविहीन बनेका छन्।

बुधबार मन्त्री पदबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निकट नेताहरूले रास्वपासँगको सहकार्य सहज नहुने धारणा व्यक्त गरेका छन्। शुक्रबार रास्वपा सभापति रवि लामिछाने र घिसिङसहितका नेताबीच भएको छलफलबाट पनि ठोस निष्कर्ष ननिस्किएको उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाले जानकारी दिए।

advertisement

उनका अनुसार वरीयता निर्धारण, समानुपातिक सूची, जिल्ला बाँडफाँड र केन्द्रीय सदस्य संख्या जस्ता विषयमा सहमति जुट्न सकेको छैन। “प्रारम्भमा भएका केही भद्र सहमतिहरू पछिल्लो समय बेवास्ता गरिएको छ, रास्वपाको रवैया पेलेर जाने खालको देखिएको छ,” थापाले भने।

यता, कुलमान घिसिङले भने शनिबार साँझसम्म एकताको विषय टुंगो लाग्ने बताएका छन्। शनिबार बिहान एक कार्यक्रममा बोल्दै उनले सहमति नजुटे उज्यालो नेपाल पार्टीबाटै अघि बढ्ने संकेत गरे। पार्टी दर्ता भइसकेकाले देशको आवश्यकता र जनताको चाहनाअनुसार निर्णय लिने उनको भनाइ छ।

उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले पार्टीलाई स्वतन्त्र रूपमा अघि बढाउन दबाब दिइरहेका छन्। एकता सम्भव नभए दोस्रो विकल्प अपनाउनुपर्ने र आवश्यक परे चुनावी एकताको मोडेलमा जानुपर्ने सुझावसमेत आएको छ।

यही पुस १४ गते दुई पक्षबीच भएको छलफलपछि सातबुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरिएको थियो। सहमतिमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह साक्षी रहेका थिए।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com