काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रको विशेष महाधिवेशनको प्रयास रोक्नुपर्ने बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको र त्यसको कार्यतालिका संशोधन गरेर अघि बढाएको बताए। उनले विशेष महाधिवेशन आयोजना गर्नु नीतिगत र व्यवहारिक दृष्टिले उचित नरहेको औँल्याए।
उनले भने, ‘पार्टीले पहिले नै नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। यदि यो समयमा नियमित अधिवेशन सम्पन्न गर्न नसकिने अवस्था आएको छ भने संशोधित कार्यतालिका पास गरिएको छ। यो निर्णय हामी सबैले मान्नुपर्छ। पदाधिकारीहरूले अझ सक्रिय भएर निर्णय कार्यान्वयन गर्नुपर्छ। विशेष महाधिवेशनमा सहभागी हुनु उपयुक्त छैन। हामी सम्पूर्ण पार्टीको शक्ति आम निर्वाचनमा केन्द्रित गरौँ। हामी चाहन्छौं, विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोकियोस् र पार्टी एकत्रित भएर अघि बढोस्।’
महतले कांग्रेस पार्टी आम कार्यकर्ताको भावना अनुसार चल्ने पार्टी भएको र आगामी आम निर्वाचनमा पार्टी विभाजित नभई एकजुट भएर नीतिगत प्रस्तावहरू पारित गरी केन्द्रित हुनुपर्नेमा जोड दिए।
उनी थपे, ‘आम निर्वाचनमा जाने क्रममा एजेन्डा लिएर जाने विषयमा सोचौं। पार्टी आम कार्यकर्ताको भावना अनुसार चल्छ। यो अवस्थामा विभाजन होइन, एकताको माध्यमबाट सम्पूर्ण शक्ति लगाएर आम निर्वाचनमा केन्द्रित हुनुपर्छ। नीतिगत प्रस्तावहरू केन्द्रीय समितिबाट पारित गरौँ।’
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












प्रतिक्रिया