काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले विशेष महाधिवेशनको निम्तोपत्र लिन अस्वीकार गरेको छ।
विशेष महाधिवेशन अतिथि स्वागत तथा सत्कार समितिका संयोजक रामपल्टन साह आज दिउँसो सभापति देउवाको महाराजगञ्जस्थित निवास पुगेर उद्घाटन समारोहका लागि निम्तोपत्र दिन गएका थिए। तर, देउवाका स्वकीय सचिव भानु देउवाले निम्तोपत्र पढेपछि सभापतिसम्म नपुर्याई फिर्ता पठाएको साहले बताएका छन्।
साहका अनुसार देउवाको निवासमा बैठक चलिरहेको थियो। करिब आधा घन्टा प्रतीक्षा गरेपछि उनले त्यहीँ उपस्थित पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निम्तोपत्र बुझाउन खोजे पनि ‘सभापतिजीलाई नै दिनुस्’ भन्ने जवाफ पाए। त्यसपछि स्वकीय सचिव भानु देउवाले निम्तोपत्र लिएर पढेपछि पुनः साहकै खल्तीमा राख्दै बाहिर जान निर्देशन दिएको उनले बताएका छन्।
निम्तोपत्र बुझाउने क्रममा सहमहामन्त्री उमाकान्त चौधरी पनि त्यहीँ पुगेको साहले जानकारी दिए। उनका अनुसार चौधरीले पनि निम्तोपत्र पढेर आफ्नो खल्तीमा राखेका थिए।
त्यसपछि साह कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास पुगेका थिए। त्यहाँ पनि बैठक जारी रहेकाले स्वकीय सचिवले निम्तोपत्र बुझेर सभापतिलाई भेट्न समय लाग्ने जानकारी दिएको उनले बताए। समय अभावका कारण अन्य नेताहरूलाई पनि निम्तो दिनुपर्ने भन्दै आफू फर्किएको साहको भनाइ छ।
साहले नेता नारायण खड्कालगायत अन्य नेताहरूको निवासमा समेत निम्तोपत्र छाडेको र पूर्वमहामन्त्री शशांक कोइरालालाई भने प्रत्यक्ष भेटेरै निम्तोपत्र बुझाएको बताए। कोइरालाले निम्तोपत्र ग्रहण गर्दै ‘गुड’ प्रतिक्रिया दिएको साहको भनाइ छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। संस्थापन पक्षका अधिकांश नेताहरूको असहमतिकै बीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिहरूको ५४ प्रतिशत मागलाई आधार मानेर विशेष महाधिवेशन बोलाएका हुन्।
विशेष महाधिवेशनका लागि देशभरका महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












प्रतिक्रिया