काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने तयारी लगभग तय भएको संकेत गरेका छन् ।
रुकुम पश्चिममा आयोजित पार्टी एकता सभालाई सम्बोधन गर्दै उनले रुकुम पूर्वबाट चुनाव लड्ने विषयमा आफू दृढ रहेको बताए । कार्यक्रममा उनले रुकुमेली जनताप्रति निरन्तर सम्पर्क र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
‘तपाईंहरूका लागि पार्टीको केन्द्रीय नेतृत्वको ढोका सधैँ खुला रहनेछ,’ प्रचण्डले भने, ‘पहिलेभन्दा अझ बढी तपाईंहरूको दुःख–सुखमा साथ दिनेछु र विकास निर्माणका काममा सक्रिय रहनेछु ।’
उनले शिक्षा, स्वास्थ्य, सडकलगायत आधारभूत पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पारे । रुकुम पूर्वलाई नेकपा (तत्कालीन माओवादी)को बलियो आधार क्षेत्रका रूपमा चिनिन्छ । पछिल्लो निर्वाचनमा यही क्षेत्रबाट माओवादी उम्मेदवार पूर्णबहादुर घर्ती भारी मतान्तरले विजयी भएका थिए ।
प्रचण्डले अहिलेसम्म एउटै निर्वाचन क्षेत्रमा दोहोर्याएर उम्मेदवारी नदिएको इतिहास छ । २०६४ सालको संविधानसभा निर्वाचनमा उनले काठमाडौं–१० र रोल्पा–२ दुवै क्षेत्रबाट विजय हासिल गरेका थिए ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र सिराहा–३ बाट उम्मेदवारी दिए पनि काठमाडौंमा पराजित भई सिराहाबाट निर्वाचित भएका थिए । २०७४ सालको आम निर्वाचनमा एमालेसँग पार्टी एकीकरणपछि चितवन–३ बाट प्रतिनिधिसभा सदस्य बने ।
तर २०७९ सालको निर्वाचनमा उनले चितवन–३ छाडेर गोरखा–२ रोजे । त्यहाँ जनयुद्धकालीन सहयात्री तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको समर्थन पाउँदा उनी विजयी भएका थिए ।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












प्रतिक्रिया