काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। यससँगै लामो समयदेखि चर्चामा रहेको उनको निर्वाचन क्षेत्रसम्बन्धी अन्योल अन्त्य भएको छ।

शनिबार रुकुम पश्चिममा आयोजित नेकपाको ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनावमा आफू रुकुम पूर्वबाट उम्मेदवार बन्ने स्पष्ट पारे। उनले भने, “यसपटकको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुमबाट उम्मेदवार हुनेछु।” साथै उनले पश्चिम रुकुमसँगको सम्बन्ध पनि निरन्तर रहने संकेत गर्दै “पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने तपाईंहरूले बुझ्नुभएको छ,” भने।

advertisement

प्रचण्डले पश्चिम रुकुमका जनताले देखाएको विश्वास, माया र समर्थनप्रति आफू सदैव प्रतिबद्ध रहने बताए। उनले विकास निर्माणका कामलाई नयाँ ढंगबाट अघि बढाउने, जनताका समस्या सुन्ने र रुकुमवासीको सुख–दुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे। “रुकुमका जनताको भरोसालाई कहिल्यै कमजोर हुन दिने छैनौं,” उनले भने।

यसअघि आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार बन्ने भन्ने विषय खुलाइएको थिएन। पार्टीभित्र र बाहिर दुवैतर्फ उनको निर्वाचन क्षेत्रलाई लिएर व्यापक चर्चा चलिरहेको थियो। चितवन, गोरखा, कास्की, सिन्धुली, धादिङ र रुकुम पूर्व गरी आधा दर्जनभन्दा बढी जिल्लाबाट उनलाई उम्मेदवार बन्न सिफारिस गरिएको थियो।

प्रचण्डले हरेक निर्वाचनमा फरक–फरक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिँदै आएका छन्। २०६४ सालको संविधानसभा निर्वाचनमा उनले रोल्पा–२ र काठमाडौं–१० बाट उम्मेदवारी दिएका थिए र दुवै क्षेत्रबाट विजयी बनेका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी काठमाडौं–१० र सिरहा–५ बाट उम्मेदवार बने, जसमा काठमाडौं–१० बाट पराजित भए पनि सिरहा–५ बाट विजयी हुँदै संविधानसभामा प्रवेश गरे।

संविधान जारी भएपछि २०७४ सालको पहिलो आम निर्वाचनमा उनले गृहजिल्ला चितवन–२ बाट उम्मेदवारी दिएर जित हासिल गरे। त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन छाडेर गोरखा–२ रोजे र त्यहाँबाट पनि विजयी बने।

यसपटक पुनः निर्वाचन क्षेत्र परिवर्तन गर्दै प्रचण्डले रुकुम पूर्व रोजेका छन्। रुकुम पूर्व माओवादी आन्दोलनको ऐतिहासिक आधारभूमि मानिन्छ र जनयुद्धकालीन राजनीति तथा जनसमर्थनका दृष्टिले यो क्षेत्र प्रचण्डका लागि सुरक्षित र प्रतीकात्मक मानिँदै आएको छ। शनिबारको घोषणासँगै अब उनको उम्मेदवारी औपचारिक रूपमा रुकुम पूर्वमै केन्द्रित भएको छ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com