काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल आजको अवस्थामा पुग्न धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन्। पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेको स्मरण गराएका छन्।
पौडेलका अनुसार, पृथ्वीनारायण शाहले नेपालको एकीकरणमार्फत राष्ट्रिय स्वाधीनता र साझा पहिचान स्थापित गर्नुभएको थियो। उहाँको दिव्योपदेश आज पनि सान्दर्भिक र लोकप्रिय रहेको उनले उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले मुलुकको सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनीतिक सम्बन्ध, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण, न्याय र सुशासन, तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पृथ्वीनारायण शाहका शिक्षाहरू मार्गदर्शन बन्न सक्ने बताए।
उहाँले इतिहासका वीर पुर्खाहरूले राष्ट्र निर्माणको अभियानलाई निरन्तरता दिएका कारण आज नेपाल सार्वभौम, स्वतन्त्र र अविभाज्य राष्ट्र बन्न सफल भएको स्मरण गराए। यस आधारमा संविधानले नेपाललाई स्वतन्त्र, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा स्थापित गरेको उनले स्पष्ट पारे।
राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्:
“राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस्।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












प्रतिक्रिया