काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल आसपासमा बसको एक भाग फेला परेको छ। तनहुँतर्फ पर्ने सिमलताल नजिकैको बगर क्षेत्रमा नीलो रङको बसको टुक्रा भेटिएपछि त्यस स्थानमा प्रहरीले तत्काल परिचालन गरिएको छ।
फेला परेको उक्त अवशेष २०८१ साल असार २८ गते त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई वटा डिलक्स बसमध्ये कुनै एकको हुन सक्ने आशंका गरिएको छ। घटनाको यकिन विवरण जुटाउन प्रहरी टोली पठाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले जानकारी दिएका छन्।
बालुवामा पुरिएको अवस्थामा बसको अवशेष भेटिएको हो। स्मरणीय छ, गत वर्ष त्रिशूली नदीमा खसेर बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको ‘गणपति’ र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको ‘एन्जल डिलक्स’ बस बेपत्ता भएका थिए। ती दुर्घटनामा बसमा सवार २५ जनाको शव फेला परेको थियो भने ४० जना अझै बेपत्ता रहेका थिए।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार













प्रतिक्रिया