काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सभापति वा प्रधानमन्त्री बन्न कुनै व्यक्तिगत लोभ नभएको स्पष्ट पारेका छन्। पार्टीको विशेष महाधिवेशनको सन्दर्भमा जारी भिडियो सन्देशमा उनले भने कि आफ्नो व्यक्तिगत महत्वाकाङ्क्षा नभए पनि कांग्रेसको समग्र एकताको पक्षमा शान्त र मधुरो स्वर उठाइरहने उनले प्रतिवद्धता व्यक्त गरे।

कोइरालाले मन्त्रालय, महामन्त्री पद वा सभापति–प्रधानमन्त्री बन्ने लोभले आफूलाई कहिल्यै आकर्षित नगरेको र भविष्यमा पनि नलोभाउने दाबी गरेका छन्। आफ्नो जीवन दर्शनमा परिवारबाट पाएको शिक्षा नै आधार रहेको र यही दर्शनअनुसार पार्टी एकताका लागि लागिरहेको उनले बताए। उनले आफ्नो लड्ने शैली शान्त र संयमित रहेको उल्लेख गर्दै, कांग्रेसको रूपान्तरण अभियानमा क्रोध वा अधैर्यताबाट अगाडि बढ्न नचाहेको बताए।

advertisement

कोइरालाले बीपी कोइरालादेखि सुवर्णशमशेर, गणेशमान, किसुनजी, गिरिजाप्रसाद र सुशील कोइराला जस्ता अग्रज नेताहरूले छोडेको पदचिह्नले आफूलाई विचलित नगर्ने पनि बताए। सहमति, सहकार्य र सहअस्तित्वको भावनालाई एकीकृत गर्दै, समग्र कांग्रेसको एकताको बिगुल फुक्ने महाधिवेशन आवश्यक रहेकोमा उनले जोड दिए।

उनले देश अहिले आसन्न निर्वाचनको पूर्वसन्ध्यामा रहेको र संविधान छतविक्षत अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे। जनआन्दोलनबाट निर्वाचित सरकारको स्थानमा अनिर्वाचित सरकार गठन भएको र संविधानहीन अवस्था सिर्जना भएकोले लोकतन्त्रको रक्षा गर्न सबै एक हुनु अपरिहार्य रहेको कोइरालाको भनाइ छ।

महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको धरोहर भन्दै विधि र नीतिको प्रभावकारिता स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी उनीहरूमाथि रहेको उनले बताए। पार्टीभित्र निकास निस्किएसम्म निरन्तर प्रयासरत रहने र एकताबद्ध भएर अघि बढ्दा मात्र ‘जय नेपाल’ नाराको गुञ्जन सम्भव हुनेमा उनले विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com