विराटनगर । महानायक राजेश हमालले वर्तमानमा जननिर्वाचित सरकारको सट्टा चुनावी सरकार हुनु विडम्बना भएको टिप्पणी गरेका छन्। झापाको विर्तामोडमा इस्टर्न सहारा कम्पनी लिमिटेडको तेस्रो साधारण सभा कार्यक्रममा बोल्दै हमालले लोकतन्त्रमा जननिर्वाचित सरकारको महत्त्वको पक्षमा धारणा व्यक्त गरे। उनले केही समयपछि हुने चुनावले वास्तविक जननिर्वाचित सरकारको मार्ग खोल्ने विश्वास पनि व्यक्त गरे।

उनले कार्यक्रममा भने, ‘अहिले जनसमुदायको कोर्टमा बल छ, निर्णय गर्ने जिम्मेवारी तपाईंहरूको हो। देश कस्तो बनाउने र समस्याहरू कसरी समाधान गर्ने भन्ने सोचविचार गरेर जनप्रतिनिधि छान्नुहोस्।’ हमालले थपे, ‘धेरैले भन्छन् पुरानाहरूले केही गरेनन्, सबै बिग्रियो। तर, हामीले त उनीहरूलाई नै छानेका होइनौँ र?’

advertisement

सरकारको नेतृत्वमा रहेकाहरू प्रणालीबाट आएका हुन् भन्ने उल्लेख गर्दै उनले प्रणाली सुधारमा जनसमुदायको प्रमुख भूमिका रहने बताए। ‘प्रणाली कस्तो छ भन्ने होइन, प्रणालीमा कसरी काम गर्ने भन्ने कुरा मुख्य हो,’ हमालले भने। उनले सरकारलाई प्रभावकारी बनाउन पनि जनसमुदायको सक्रिय सहभागिता अपरिहार्य भएको बताए।

हमालले नयाँ नेतृत्वले मात्र आलोचना गर्न नभई समाधानका उपाय लिएर आउनुपर्नेमा जोड दिए। ‘अहिले नयाँ आएका धेरैले भन्छन्, पुरानाले केही गरेनन्। मलाई त हाँसो लाग्छ। पुरानाले गरेनन् भन्नुभन्दा हामी यसरी गर्छौँ भनेर अघि आउनुपर्छ,’ उनले भने।

देशका समस्याहरू एकैचोटि समाधान गर्न नसकिने भन्दै हमालले त्यसलाई सिँढी चढेजस्तो क्रमिक रूपमा समाधान गर्नुपर्ने बताए। ‘५ वा १० वर्षमा समाधान गर्छु भन्ने व्यक्तिलाई सोध्नुपर्छ—कसरी? योजना बिना कुनै काम सफल हुँदैन। देश बनाउँछु र समस्या समाधान गर्छु भन्नेहरूसँग स्पष्ट योजना माग्नुपर्छ,’ उनले भने।

महानायक हमालले देश निर्माणमा सबै जनसमुदायले चुप लागेर बस्नुको सट्टा सक्रिय भई समस्यामा योगदान दिनुपर्नेमा जोड दिँदै आफ्नो भाषण समापन गरे।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com