काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरहरूलाई पार्टी फुटाउन खोजेको आरोप लगाएकोप्रति कडा आपत्ति जनाएका छन्। देशभरबाट काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरूलाई अपमान गर्ने गरी संस्थापन पक्षले उनीहरूमाथि निराधार आरोप लगाएको उनले दाबी गरे।
आइतबारदेखि काठमाडौँमा सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सम्बोधन गर्दै पौडेलले पार्टीको भविष्य सुरक्षित गर्न नेतृत्व परिवर्तन आवश्यक भएको बताए। कांग्रेस कमजोर बन्दै गएको अवस्थालाई रोक्नकै लागि विशेष महाधिवेशन आह्वान गरिएको उनको भनाइ थियो।
उनले भने, ‘नेतृत्व जोगाउन कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्य बचाउन नेतृत्व परिवर्तन गर्ने भन्ने निर्णय आज हाम्रो हातमा छ। यहाँ उपस्थित महाधिवेशन प्रतिनिधिहरूले नेपाली कांग्रेसका लागि जीवन समर्पण गर्नुभएको छ। कसैले राज्यको पद नपाएको हुन सक्छ, तर उहाँहरूको त्याग र समर्पण कांग्रेसकै लागि हो।’
पौडेलले विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरूलाई कांग्रेस फुटाउन खोजेको आरोप लगाउनु अनुचित भएको बताए। ‘उहाँहरू कांग्रेस फुटाउन होइन, कांग्रेस बलियो बनाउन र एकतावद्ध गर्न चाहनुहुन्छ। त्यसैले विशेष महाधिवेशन माग्दा अपमानजनक आरोप लगाउनु स्वीकार्य हुँदैन,’ उनले भने।
उनले अन्त्यमा विशेष महाधिवेशन पक्षधरहरूले पार्टी विभाजन कहिल्यै नचाहेको स्पष्ट पार्दै, कांग्रेसलाई एकताबद्ध र सशक्त बनाउने साझा लक्ष्यमा अघि बढ्न सबैलाई आह्वान गरे।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












प्रतिक्रिया