काठमाडौं । कांग्रेस विशेष महाधिवेशन अन्तर्गत सोमबार बन्द सत्र सुरू हुँदैछ। भृकुटीमण्डपमा आइतबार उद्घाटन समारोह सम्पन्न भएपश्चातै बन्द सत्र सुरु हुने तयारी गरिएको छ।
विशेष महाधिवेशनको प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलका अनुसार, बन्द सत्रको औपचारिक कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ। प्रतिनिधिहरूलाई बिहान ८ बजेदेखि भृकुटीमण्डपमा उपस्थित हुन भनिएको छ। दर्ता प्रक्रिया र खाजाको समय छुट्याइएको कारणले सत्र १० बजेदेखि मात्रै सुरु हुनेछ।
बन्द सत्रको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन्। कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यका अनुसार, सत्रको पहिलो कार्यसूची विशेष महाधिवेशनका लागि बनाइएको कार्यविधि पारित गर्नु हो।
कार्यविधि पारित भएपछिकाे छलफल सातवटा प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक तथा जनसम्पर्क समिति गरी नौ समूहमा विभाजन गरेर नीति, नियम, विधान र राजनीतिक घटनाक्रमबारे गहन छलफल गरिनेछ। छलफलपछि निष्कर्ष सार्वजनिक गरिनेछ।
बन्द सत्रको मुख्य निर्णय नीति सम्बन्धी हुने कि नेतृत्व परिवर्तन सम्बन्धी भन्ने कुरा छलफलपछि तय हुनेछ। विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको मत यस विषयमा फरक–फरक रहेको छ। केही प्रतिनिधिहरूले केवल संकल्प प्रस्ताव पारित गर्नु पर्याप्त ठान्दा, केहीले नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












प्रतिक्रिया