काठमाडौं । कांग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख भएपछि संस्थापन पक्षले संवादको तयारी गरेको छ। सभापति शेरबहादुर देउवाले सोमबार आफूपक्षीय नेताहरूसँग गरेको छलफलपछि विशेष महाधिवेशन पक्षसँग वार्ता गर्ने निर्णय गरेका हुन्। सो संवाद मंगलबार हुने तयारी छ।

संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण वार्तामा सहभागी हुने सम्भावना रहेको छ। उता, विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरेलाई संवादका लागि जिम्मेवारी दिने तयारी भएको एक नेताले जानकारी दिए।

advertisement

विशेष महाधिवेशन पक्षधरका एक नेताका अनुसार सभापति तथा कार्यवाहक सभापतिको तर्फबाट संवादका लागि औपचारिक खबर आएको छ। “संस्थापन पक्षसँग छलफलका लागि हाम्रो तर्फबाट चार जनालाई जिम्मेवारी दिने गरी छलफल भएको छ,” ती नेताले भने।

कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ भने विशेष महाधिवेशन पक्षधरले पनि महाधिवेशनको कार्यक्रमअन्तर्गत समूहगत छलफल र नेतृत्व चयन प्रक्रिया अघि बढाउने कार्यतालिका तय गरेका छन्। दुवै पक्ष पार्टी विभाजनको पक्षमा नरहेकाले संवादमार्फत समाधान खोज्ने प्रयास भइरहेको जनाइएको छ।

ती नेताले भने, “संस्थापन पक्षबाट संवादमा आउन भनिएको छ। उताबाट को–को सहभागी हुनुहुन्छ भन्ने अहिले स्पष्ट छैन। छलफल कहाँ हुने भन्ने विषय पनि टुंगो लागेको छैन। पार्टीलाई एकताबद्ध राख्न हामी अन्तिम समयसम्म अधिकतम लचकताका साथ प्रस्तुत हुन्छौं।”

उनले थपे, “वार्ताका लागि वार्ता मात्रै गर्ने हाम्रो उद्देश्य होइन। हामी विधानको सर्वोच्चता र पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै राजनीतिक र वैधानिक सबै विषयहरू प्रस्ट रूपमा राख्छौं।”

विशेष महाधिवेशनलाई संस्थापन पक्षले स्वीकार गरे मिलेर अघि बढ्न आफूहरू सकारात्मक रहेको पनि उनले बताए। “यदि सहमति नभए भोलिदेखि नेतृत्व चयन प्रक्रिया अघि बढ्छ। विशेष महाधिवेशन पक्षधरसँग स्पष्ट बहुमत छ र यो पार्टी विधानअनुसार भएकाले निर्वाचन आयोगलगायत निकायबाट वैधता पाउनेमा हामी विश्वस्त छौं,” उनले भने।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार आइतबारदेखि विशेष महाधिवेशन सुरू भएको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानको व्यवस्था बाध्यकारी भएको भन्दै विशेष महाधिवेशन आयोजना गरेका थिए। यसको उद्घाटन सत्र आइतबार र बन्दसत्र सोमबार सम्पन्न भएको छ।

पार्टी एकता कायम राख्ने उद्देश्यले संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच संवादको पहल सोमबार दिउँसोदेखि नै सुरू भएको थियो। सभापति देउवालाई पनि नेता शेखर कोइरालासहितका नेताहरूले अधिकतम लचकता अपनाउन सुझाव दिएका छन्।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com