- तस्बिरः एबिपी न्युज
एजेन्सी । भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाको अर्की क्षेत्रमा ग्यास सिलिण्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी ९ जना नेपालीको ज्यान गएको छ।
उक्त घटनामा मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमार गाउँपालिका–२ का बासिन्दा भएको पुष्टि भएको छ। मृतकहरू स्थानीय धनबहादुर विक र काशीराम विकका परिवारका सदस्य हुन्। धनबहादुर विकको परिवारमा ३३ वर्षीय धनबहादुर, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया रेणुका विक र छोरा राजन विकको मृत्यु भएको छ।
त्यस्तै, ४७ वर्षीय काशीराम विकको परिवारमा उनकी ३२ वर्षीया श्रीमती टीका विक, १२ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको ज्यान गएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहान करिब २ः३० बजे ग्यास सिलिण्डर विस्फोट भएपछि एउटा घरमा आगलागी भएको थियो। फेन्सी पसलसमेत सञ्चालन हुँदै आएको उक्त घरमा लागेको आगो छेउछाउका घर र पसलहरूमा समेत फैलिएको थियो।
वेबइन्डियाका अनुसार आगलागीबाट १५ भन्दा बढी पसलमा क्षति पुगेको छ। समाचारमा आगलागीका बेला ९ जना नेपाली घरभित्रै फसेको र धुवाँका कारण निसास्सिएर उनीहरूको मृत्यु भएको हुनसक्ने उल्लेख गरिएको छ।
हिमाचल प्रदेशमै काम गर्दै आएका भोला कुमारले भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै आफ्ना चार आफन्तको मृत्यु भएको बताएका छन्। ‘आगलागीपछि चारै जनालाई उद्धार गरेर अस्पताल पुर्याएका थियौँ, तर चिकित्सकहरूले सबैलाई मृत घोषणा गरे,’ उनले एएनआईसँग भनेका छन्।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया