अदानचुली (हुम्ला) । अत्यधिक चिसो बढेपछि हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ। अत्यधिक जाडोका कारण चीनको ताक्लाकोटबाट व्यापारी तथा सामग्रीको आयात ठप्प भएपछि भन्सार कार्यालय अस्थायी रूपमा बन्द गरिएको हो।
भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार पुसको सुरुदेखि नै ताक्लाकोटबाट व्यापारिक गतिविधि बन्द भएपछि पुसको दोस्रो सातादेखि यारी नाका भन्सार कार्यालय बन्द गरी कर्मचारीहरू जिल्ला सदरमुकाम सिमकोटस्थित सम्पर्क कार्यालयमा सरिसकेका छन्। कारोबार नहुँदा कार्यालय सञ्चालनको औचित्य नरहेको भन्दै भन्सार विभागसँगको समन्वयमा यस्तो निर्णय गरिएको उनले बताए।
यस वर्ष हिमपात नभए पनि गत कात्तिकमा नारा सडकखण्डमा परेको हिउँका कारण बरफ जमेर सडक अवरुद्ध भएपछि यातायात सेवा बन्द भएको थियो। सडक अवरुद्ध भएपछि चीनको ताक्लाकोटबाट सामान आयात हुन नसकेको प्रमुख जैसीले जानकारी दिए।
कारोबार ठप्प भएपछि कर्मचारीहरू हिल्सामै बसिरहनुभन्दा सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा झरेको जनाइएको छ। चीनतर्फको नाका भने खुलै रहेको भन्सार कार्यालयले जनाएको छ।
प्रमुख जैसीका अनुसार आगामी चैतको दोस्रो सातामा कर्मचारीहरू पुनः यारी नाका भन्सार कार्यालयमा फर्किएपछि नाका सञ्चालनमा आउनेछ। उनका अनुसार गत साउन महिनायता यारी नाका भन्सार कार्यालयले १८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब दोब्बर हो।
- रासस
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया