काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका वार्ता टोलीका सदस्यहरू पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगञ्ज पुगेका छन्। विशेष महाधिवेशन पक्षधरहरूसँग भएको पहिलो चरणको वार्ताको प्रगतिबारे जानकारी गराउन उनीहरू देउवा निवास पुगेका हुन्।
देउवा तथा नेता शेखर कोइरालाको तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र डा. मिनेन्द्र रिजाल वार्ता समितिमा सहभागी छन्। समितिका एक सदस्यका अनुसार वार्ता टोलीले विशेष महाधिवेशन पक्षधरहरूले अघि सारेका मागहरू सभापति देउवालाई जानकारी गराउनेछ।
विशेष महाधिवेशन पक्षधरको तर्फबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा सहभागी छन्। दुई पक्षबीच मंगलबार बिहान बालुवाटारमा पहिलो चरणको वार्ता भएको थियो भने दोस्रो चरणको वार्ता साढे २ बजे पुनः बस्ने बताइएको छ।
संस्थापन पक्षका अनुसार विशेष महाधिवेशन पक्षधरले अस्वाभाविक माग राख्दा सहमति जुटाउन कठिन भइरहेको छ। देउवा पक्षबाट वार्तामा संलग्न एक नेताले भने, ‘चुनावको टिकटमा पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने, विशेष महाधिवेशनको पूर्ण स्वामित्व पार्टीले लिनुपर्ने र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका पार्टी पुनर्संरचना सम्बन्धी प्रस्ताव स्वीकार गर्नुपर्ने माग आएको छ।’
उनका अनुसार यसबाहेक गुटगत रूपमा ४० प्रतिशत भागबण्डा दिनुपर्ने, देउवा सभापतिबाट हट्नुपर्ने तथा आगामी चुनाव नलड्नुपर्ने जस्ता प्रस्ताव पनि आएको छ, जसका कारण वार्ता लम्बिँदै गएको छ।
देउवा पक्षले विशेष महाधिवेशन पक्षधरका सबै माग पूरा गर्न नसकिने स्पष्ट अडान लिएको जनाएको छ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया