काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ग्राउन्ड सर्वेक्षण (जनमत सर्वेक्षण) अभियानमा जुटेको छ। पार्टीले देशका विभिन्न जिल्लामा आफ्ना स्थानीय नेता तथा कार्यकर्ताहरू मार्फत पार्टीको अवस्था, जनताको भावना र उम्मेदवारीको सम्भाव्यता बुझ्न टोली खटाएको हो।
रास्वपाका एक नेताका अनुसार, सचिवालय सदस्य, केन्द्रीय सदस्य वा विभागीय तथा प्रदेशका नेताहरूलाई जिल्लामा नपठाई आन्तरिक रूपमा जिल्लाका नेताहरूलाई नै सर्वेक्षणको जिम्मेवारी दिइएको छ। ‘फागुन २१ को निर्वाचनलाई दृष्टिगत गर्दै ग्राउन्डमा जनमत बुझ्ने प्रयास भइरहेको छ। यसअघिको निर्वाचनको परिणामको विश्लेषण पनि भइरहेको छ, तर सबैभन्दा प्रभावकारी तथ्यांक ग्राउन्डबाटै आउँछ,’ ती नेताले भने।
पार्टीले ‘हेभी वेट’ नेताहरू प्रतिस्पर्धा गर्ने चर्चित क्षेत्रमा पहिलो प्राथमिकता दिएका छन्। काठमाडौं उपत्यका, झापा र महोत्तरीमा सर्वेक्षण टोली परिचालन गरिएको छ। सर्वेक्षणको आधारमा उम्मेदवारको निर्णय गरिने र जसले जित्ने सम्भावना देखिन्छ, उसैलाई टिकट दिने तयारी गरिएको छ।
त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा र झापामा जनमत सर्वेक्षण भइरहेको छ। ओलीसँग चुनाव लड्ने तयारीमा रहेका बालेन शाहले झापा ५ मा सर्वेक्षण गर्दै आएका छन् भने डडेलधुरामा सागर ढकालले देउवाविरुद्धको तयारी गरिरहेका छन्। स्रोतका अनुसार, बालेन र सागर दुवै यसपटक चुनाव जित्ने दाबीका साथ मैदानमा रहेका छन्।
पछिल्ला दिनमा बालेन शाह र रास्वपाका झापाका नेताहरूबीच परामर्श र छलफल भइरहेको छ। बालेननिकट स्रोतले भने, ‘बालेन दाइले आआफ्नो क्षेत्रमा गएर माहोल बनाउनुस् भनेर नेताहरूलाई खटाइसक्नुभएको छ।’
रास्वपाले निर्वाचन क्षेत्रको सिट बाँडफाँट अघि नै तोकेको छैन। पार्टीका नेताहरूका अनुसार, ‘सिट बाँडफाँटभन्दा पनि कुन उम्मेदवारले कुन क्षेत्रमा जित्ने सम्भावना छ भन्ने आधारमा टिकट दिने निर्णय हुनेछ। यही कारणले ग्राउन्ड रिपोर्टिङ भइरहेको छ।’
उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाले उम्मेदवार चयनका लागि उपसमिति पनि गठन गरेको छ। उपसमितिले योग्य उम्मेदवारको सिफारिस गर्ने जिम्मेवारी पाएको छ।
सदस्यहरूले अनलाइनमार्फत उमेदवारी दर्ता गरिरहेका छन्। उम्मेदवारको संख्या धेरै भएका कारण आन्तरिक प्रतिस्पर्धाबाट मात्रै उम्मेदवार छानिने पार्टीले जनाएको छ।
२०७९ को निर्वाचनमा रास्वपाले २१ सिट जितेको थियो। चितवन–१ बाट हरि ढकाल, चितवन–२ बाट रवि लामिछाने, तनहुँ–१ बाट डा. स्वर्णिम वाग्ले, काठमाडौं–२ बाट सोविता गौतम, काठमाडौं–६ बाट शिशिर खनाल, ललितपुर–३ बाट डा. तोसिमा कार्की र काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका थिए। त्यससँगै रास्वपा समानुपातिकबाट १३ सिट सहित चौथो ठूलो राजनीतिक शक्ति बनेको थियो।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया