काठमाडौं । अहिले युवामाझ हुक्का सेवन गर्ने प्रचलन बढ्दै गएको छ। तर धेरैले पानीको भाप मात्र हुने विश्वास गरेर हुक्का खाँदा यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ भन्ने कुरा थाहा पाएका छैनन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार, हुक्का सुर्तीजन्य पदार्थबाट बनेको हुन्छ र धुवाँ पानीबाट आएको भए पनि त्यसमा रहेका रासायनिक तत्वले क्यान्सर लगायत विभिन्न घातक रोग निम्त्याउन सक्छ।

advertisement

हुक्का पाइपमा राखिएको फ्लेवरले मानिसलाई मनपराउने बनाउँछ। स्ट्रबेरी, स्याउ, चकलेट जस्ता स्वादले धुवाँ मीठो महसुस गराउँछ र सेवनकर्तालाई आकर्षित गर्छ। तर हुक्कामा भएको निकोटिन, कार्सिनोजेनिक तत्व र कार्बन मोनोअक्साइडले फोक्सो, मुटु, मुख, घाँटी तथा खानाको नलीमा क्यान्सरको उच्च जोखिम ल्याउँछ।

सर्वोच्च फोक्सो रोग विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार, एउटा हुक्का सेवन ३०–४५ मिनेटसम्म हुने भएकाले यसले सय चुरोट बराबरको धुवाँ शरीरमा पुर्‍याउँछ। पानीले धुवाँ छानेको भ्रमले हुक्का सुरक्षित छैन भन्ने गलत धारणा फैलिएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले पनि हुक्काको धुवाँमा कार्सिनोजेनिक रसायन, टार र सुक्ष्म कण हुने र यसले फोक्सो तथा अन्य अंगमा क्यान्सर निम्त्याउने बताउनुभएको छ। साथै, हुक्का साझा पाइप प्रयोग गर्दा क्षयरोग, हेपाटाइटिस र फ्लुजस्ता संक्रमणको सम्भावना पनि बढ्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।

विशेषज्ञहरूले भनेका छन् कि हुक्का महँगो र सधैं उपलब्ध नहुने भएकाले यसको सेवनपछि चुरोटतर्फ आकर्षण बढ्ने जोखिम पनि छ। साथै, नजिक बस्ने अन्य व्यक्तिहरू र गर्भवती महिलामा यसको सेवनले शिशुमा कम तौल, श्वासप्रश्वासमा समस्या र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

हुक्का चुरोटभन्दा भिन्न होइन, बरु धुवाँको मात्रा र रासायनिक तत्वका कारण अझ हानिकारक छ। स्वास्थ्य जोखिमका दृष्टिले यसको सेवनबाट पूर्ण रूपमा टाढा रहन विशेषज्ञहरूले सुझाव दिएका छन् ।

  • रासस

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com