काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपालाई देशको पहिलो शक्ति बनाउने दाबी गरेका छन्। मंगलबार पार्टी कार्यालयमा आयोजित एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
लिङ्देनले भने, ‘राप्रपालाई निर्णायक शक्ति बनाएर अघि बढाए भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न सकिन्छ। राष्ट्रवादी शक्तिहरू एकजुट भएका कारण यो असम्भव होइन।’ उनले हाल राप्रपामा समाहित हुने क्रम तीव्र रूपमा बढेको उल्लेख गरे।
अध्यक्ष लिङ्देनले २०५१ सालको निर्वाचनबाहेक राप्रपा विभिन्न खण्डमा विभाजित हुँदै आएको स्मरण गराउँदै भने, ‘यसपटक पहिलो पटक राप्रपा एउटै पार्टी भएर चुनावमा जाने तयारीमा छ। २०६२–०६३ को राजनीतिक परिवर्तनपछि बोकेको राजसंस्थाको मुद्दा अहिले सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको छ।’
लिङ्देनले अध्यक्ष पदमा रहँदै राजतन्त्र र हिन्दु राष्ट्रको पुनःस्थापना हेर्न चाहेको बताए। आगामी निर्वाचनमा राप्रपालाई सबैभन्दा ठूलो दल बनाउन कार्यकर्तालाई खटिन उनले आग्रह गरे। उनले मुलुकमा राजसंस्था अभिभावकको भूमिकामा हुनुपर्ने र संघीयता खारेज हुनुपर्नेमा जोड दिँदै यसका पक्षमा एकजुट हुनुपर्नेमा जोड दिए।
उनले कार्यकर्ताहरुलाई स्पष्ट सन्देश दिए– ‘अब राजतन्त्र र हिन्दु राष्ट्रका समर्थकहरू एक भएर राष्ट्रिय हितका लागि अघि बढ्नु आवश्यक छ।’
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया