काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले भृकुटीमण्डपमा भइरहेको कार्यक्रमलाई विशेष महाधिवेशन नभई भेला भएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै साउदले आइतबारदेखि भृकुटीमण्डपमा जारी कार्यक्रम महाधिवेशन नभएर भेला मात्र भएको स्पष्ट पारेका हुन्।
उनले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको निर्णय नमान्नुलाई लिएर प्रश्न पनि उठाए। साउदका अनुसार, केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन पुसबाट वैशाखमा सार्ने निर्णय गरेको थियो र उक्त निर्णय भएको बैठकमा महामन्त्रीहरू पनि सहभागी भएका थिए।
साउदले भने, ‘नियमित महाधिवेशन स्थगित भइसकेपछि उहाँहरूले बोलाउनु भएको यो भेलाभन्दा अरु कुनै कार्यसूची मान्य छैन।’
यता, विशेष महाधिवेशनको निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गर्दै उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिसकेको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार, आज साँझ साढे ७ बजे सम्म मनोनयन दर्ता गरिनेछ भने भोलि बिहान मतदान र अन्य प्रक्रिया सुरु हुनेछ।
साउदको स्पष्टिकरणपछि कांग्रेसको महाधिवेशन विवाद अझै सक्रिय रहँदै गर्दा, पार्टीभित्रको एकता र वैधानिक प्रक्रियाको विषयमा चासो बढेको छ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया