काठमाडौं । विशेष महाधिवेशनको पक्षमा उभिएका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र डा. सुनिल शर्माले नेतृत्व चयन प्रक्रियाबाट आफूहरू अलग भएको घोषणा गरेका छन्।
डा. भण्डारीले कांग्रेस विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पार्दै एकपक्षीय रूपमा नेतृत्व चयन गर्ने प्रक्रियामा सहभागी नहुने बताए। पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि गतिविधिमा आफू संलग्न नहुने उनको भनाइ छ।
त्यस्तै, डा. सुनिल शर्माले नेतृत्व चयनकै कारण पार्टी फुट्ने अवस्था आउन नदिन आफूहरू उक्त प्रक्रियाबाट अलग भएको बताए। उनले पार्टी एकताका लागि अन्तिम क्षणसम्म पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
डा. शर्माले विशेष महाधिवेशन पक्षधरको भावनासँग ऐक्यबद्धता जनाउँदै त्यसै आधारमा आफू सहभागी भएको बताए। दुवै पक्षलाई मिलाउन निरन्तर संवादमा रहेको उल्लेख गर्दै उनले भने, ‘दुईवटा अलग–अलग नेतृत्व बनाउने कुरामा मेरो असहमति छ।’
दुवै नेताले पार्टी एकता र सहमतिलाई प्राथमिकतामा राख्दै विभाजनको जोखिम बढ्ने प्रक्रियाबाट अलग हुने निर्णय गरेको बताएका छन्।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया