काठमाडौं ।नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताका लागि पुनः समय थप गरिएको छ । यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय पटक–पटक संशोधन गर्दै बेलुकी ७ बजेसम्म पुर्‍याइएको थियो । मंगलबारकै लागि बेलुकी ९ बजेदेखि बुधबार बिहान १ बजेसम्म मतदान गर्ने कार्यक्रम पनि तय गरिएको थियो ।

केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीले मंगलबार राति विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ता बुधबार पनि निरन्तर रहने जानकारी दिएका छन् । उनका अनुसार बुधबार बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्म मनोनयन दर्ताका लागि थप समय प्रदान गरिएको हो । निर्वाचनअन्तर्गत अन्य कार्यक्रम भने अझै तय हुन बाँकी रहेको छ ।

advertisement

यसैबीच मंगलबार चार जनाले सभापति पदका लागि उम्मेदवारी फाराम लिएका छन् । तर ती फाराम कसका लागि लिइएका हुन् भन्नेबारे भने खुलाइएको छैन । साथै, पदाधिकारीका अन्य पदका लागि पनि करिब ३० वटा फाराम वितरण गरिएको जनाइएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि समान रूपमा २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

मनोनयन फाराम लिँदा शुल्क नलाग्ने भए पनि दर्ताका क्रममा भने तोकिएको दस्तुर बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com