काठमाडौं । नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने अन्तिम प्रयासका रूपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षबीच विभिन्न विकल्पमा छलफल जारी छ।
स्रोतका अनुसार, सभापति शेरबहादुर देउवासँग आज बिहान महाराजगन्जस्थित निवासमा भएको वार्तामा कुनै सहमति जुट्न नसकेपछि, महामन्त्रीद्वय र संस्थापन पक्षका नेताहरूले सहमतिका सम्भावित बाटाहरूमा सन्देश आदानप्रदान गरिरहेका छन्।
त्यसै क्रममा, विशेष महाधिवेशन पक्षले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सहमतिको अन्तिम विकल्पको सन्देश पठाएको स्रोतले जनाएको छ।
कार्यवाहक सभापति खड्कासहित संस्थापन पक्षका केन्द्रीय सदस्यहरू अहिले सानेपा पार्टी कार्यालयमा छलफलमा जुटेका छन्।
यसअघि, सभापति देउवाले पार्टीका सबै कामबाट अलग हुने र आगामी निर्वाचनका उम्मेदवारको टिकट वितरण लगायतका कार्यमा आफ्नो हस्ताक्षर प्रयोग नगर्ने निर्णय गरेका छन्। यो कुरा पार्टी प्रवक्ता प्रकाशशरण महतले सार्वजनिक रूपमा जानकारी गराइसकेका छन्।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया