काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको मूल आधार स्वजागरण भएको बताएकी छिन्।
बुधबार आयोजित ‘सुशासन र समृद्धिका लागि स्वजागरण’ कार्यक्रममा उनले स्वजागरण केवल आध्यात्मिक अभ्यासमा सीमित नरहेको स्पष्ट पारेकी थिइन्। उनका अनुसार, स्वजागरण व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माण गर्न सक्षम प्रभावकारी जीवन पद्धति हो।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउँछ भने बाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पुर्याउँछ। यसले नागरिकलाई अधिकार मात्र माग्ने नभई आफ्ना कर्तव्यबारे जानकारी राख्न सिकाउँछ।’
उनले थपिन् कि नेपालका मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकीय सुधार अपरिहार्य भइसकेको छ। ‘समृद्धिको आधार स्तम्भ नै स्वजागरण हो। यो केवल आध्यात्मिक अभ्यास मात्र होइन, आन्तरिक रूपमा व्यक्तिगत खुशी र शान्त रहन सिकाउने र बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग गर्ने प्रयोगात्मक जीवन पद्धति पनि हो,’ उनले भनिन्।
प्रधानमन्त्रीका अनुसार, स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउने, त्यसपछि मात्र परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्ने काम गर्छ। ‘स्वजागृत व्यक्तिले अधिकार मात्र खोज्दैन, आफ्नो कर्तव्य के हो भनेर आफैंसँग प्रश्न गर्छ,’ उनले जोड दिइन्।
उनले भने कि स्वजागरण व्यक्तिगत रूपान्तरणमा मात्र सीमित नरहेको, बरु नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगसँग जोडिँदै विश्वव्यापी अभ्यास बन्दै गएको छ।
प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् कि सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सीमित रहन सक्दैन। यसका लागि निजी क्षेत्र, नागरिक समाज र प्रविधिमैत्री तथा सचेत युवापुस्ताको सक्रिय सहभागिता अपरिहार्य छ।
उनले भनिन्, ‘निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको प्रभावकारी निगरानी र युवाको सिर्जनशीलता, नवप्रवर्तन तथा जिम्मेवार नागरिक चेतना बिना समावेशी र दिगो सुशासन सम्भव छैन। स्वजागरण व्यक्तिगत रूपान्तरणमा मात्र सीमित नभई नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगको विश्वव्यापी अभ्यास बन्दै गएको छ।’
प्रधानमन्त्री कार्कीले आफ्नो वक्तव्यमार्फत स्वजागरण, सुशासन र दिगो समृद्धिबीचको अन्तरसम्बन्धलाई प्रष्ट पार्दै यसका लागि समाजका सबै तहमा सक्रिय सहभागिता आवश्यक रहेको जोड दिइन्।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया